पोखरा, २६ फागुन। हेटौंडामा जारी दशौं राष्ट्रिय हेटौंडा भेट्रान्स फुटबल कपको फाइनलमा फ्रिडम फाइटर भेट्रान्स र किङकम भेट्रान्स पुगेका छन्।
हेटौंडा उपमहानगरपालिका-४, स्थित हुप्रचौरमा आइतबार भएको सेमिफाइनल खेलमा फ्रिडम फाइटर भेट्रान्सले बानेश्वर फ्रेण्डसिप भेट्रान्सलाई १-० गोलले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो। फ्रिडम फाइटरका कृष्ण मालाकारले खेलको ६औं मिनेटमा निर्णायक गोल गरेका थिए। यस प्रदर्शनका लागि उनलाई म्यान अफ दी म्याच चयन गरिएको थियो।
त्यसैगरी, किङकम भेट्रान्सले आयोजक हेटौंडा भेट्रान्स क्लबलाई ५-३ गोल अन्तरले पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो। किङकम भेट्रान्सका किशोर नेपालीले १२औं, ४२औं र ४४औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे। उनले म्यान अफ दी म्याचको उपाधि पनि जिते। किङकमकै लागि सरोज थापा र निरज सिंह बस्नेतले एक-एक गोल गरे।
आयोजक हेटौंडा भेट्रान्सका प्रकाश महर्जन र दीपक लामाले क्रमशः ३१औं, ३७औं र ४१औं मिनेटमा गोल गरे पनि टोलीलाई जित दिलाउन सकेनन्।
प्रतियोगिताको विजेताले १ लाख ५० हजार ५ सय ५५ र उपविजेताले ७५ हजार ५ सय ५५ पुरस्कार प्राप्त गर्नेछ। फाइनल खेल सोमबार दिउँसो हुनेछ।































