पोखरा, २६ फागुन। रजहर, रुपन्देहीको सैनामैनामा जारी सुनगाभा सैनामैना गोल्डकपको फाइनलमा अभिषेक चर्ज रजहर प्रवेश गरेको छ। आइतबार भएको पहिलो सेमिफाइनल खेलमा अभिषेक चर्ज रजहरले घरेलु टोली मुर्गिया फुटबल क्लबलाई २-० ले हराउँदै फाइनलमा स्थान बनाएको हो।
खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो भने दोस्रो हाफमा अभिषेक चर्जका विदेशी खेलाडी मार्टिनेसले दुई गोल गर्दै टिमलाई फाइनल पुर्याएका थिए। मार्टिनेसले ६८औं मिनेटमा पहिलो गोल गरेका थिए भने ७८औं मिनेटमा दोस्रो गोल गरेर आफ्नो टिमलाई अग्रता दोब्बर पारे। घरेलु मैदानमा खेलेको मुर्गिया क्लब भने गोल गर्न सफल भएन र स्तब्ध बन्यो।
मार्टिनेसको उत्कृष्ट प्रदर्शनका कारण उनलाई म्यान अफ द म्याच घोषित गरिएको थियो र उनले नगद ५ हजार पुरस्कार प्राप्त गरे।
यस प्रतियोगिताको दोस्रो सेमिफाइनल खेल महावीर क्लब काठमाडौं र कपिलवस्तु ११ बीच सोमबार दिउँसो ३ बजे हुनेछ। सैनामैना फुटबल क्लब र सैनामैना नगरपालिका, रुपन्देहीको संयुक्त आयोजनामा जारी प्रतियोगिताको विजेताले नगद ७ लाख र उपविजेताले ४ लाख प्राप्त गर्नेछन्।
सुनगाभा पब्लिक स्कुल मुख्य प्रायोजक रहेको यस प्रतियोगितामा सेमिफाइनलमा पराजित हुने टोलीहरूले नगद ४०-४० हजार प्राप्त गर्नेछन्। प्रतियोगिताको फाइनल खेल फागुन २८ गते हुनेछ।































