पोखरा, २६ फागुन। नेपालको प्रमुख भुक्तानी नेटवर्क फोनपेले ‘सक्षम नारी’ नामक नयाँ अभियान सुरु गरेको छ। यस अभियानको उद्देश्य महिलालाई डिजिटल वित्तीय समावेशन र आत्मनिर्भरता मार्फत सशक्त बनाउनु हो। फोनपेले राष्ट्रिय वाणिज्य बैंक, ग्लोबल आइएमई बैंक, एनआईसी एसिया बैंक, कुमारी बैंक, ईसेवा र एभरेस्ट बैंकसँग साझेदारीमा यो अभियान सञ्चालन गर्दैछ।
सक्षम नारी अभियानको मुख्य उद्देश्य महिलामा डिजिटल वित्तीय सेवाबारे जानकारी र सचेतना फैलाउनु हो। यो अभियानले महिलालाई डिजिटल भुक्तानीका फाइदाबारे शिक्षित गर्ने र उनीहरूलाई डिजिटल भुक्तानी प्रयोगमा प्रेरित गर्ने कार्यमा फोकस गर्दैछ। महिलालाई डिजिटल वित्तीय सेवा प्रयोग गर्न प्रोत्साहित गर्दै, उनीहरूलाई आफ्ना अन्य महिला साथीलाई पनि यसको फाइदाबारे जानकारी दिन प्रेरित गरिने छ।
फोनपेले महिलालाई डिजिटल भुक्तानी र मोबाइल बैंकिङबारे प्रशिक्षण र स्रोत उपलब्ध गराउने जनाएको छ। अभियान ३१ मार्चसम्म चल्नेछ। सहभागी महिला प्रयोगकर्ताले साझेदार बैंकहरूको मोबाइल बैंकिङ एपद्वारा फोनपेका कुनै पनि सेवा कम्तिमा तीन पटक प्रयोग गर्नुपर्ने छ। यस अभियानमा सहभागिता जनाउने महिलाहरूलाई विशेष पुरस्कारको व्यवस्था पनि गरिएको छ। प्रत्येक बैंकबाट एक महिला विजेतालाई हिराको गहना प्रदान गरिने छ, जबकि अन्य ५० महिला विजेतालाई १ हजार रुपैयाँको सपिङ भौचर उपलब्ध गराइने छ।




























