पोखरा, २६ फागुन। निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशकका लागि तीन जनाको नाम सिफारिस गरिएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १० जना आवेदकबाट प्रस्तुतीकरण र अन्तर्वार्ताका आधारमा तीन जनाको नाम सार्वजनिक गरेको हो। मन्त्रालयले सिफारिस गरेका तीन जनाको नाम डा. प्रमोद यादव, डा. रुद्र मरासिनी र डा. मोहनचन्द्र रेग्मी रहेका छन्।
डा. प्रमोद यादव १०औं तहका चिकित्सक हुन् र उनले राष्ट्रिय ट्रमा सेन्टरको मेडिकल सुपरिटेन्डेन्ट तथा जनकपुर अस्पतालको सुपरिटेन्डेण्टको जिम्मेवारी सम्हालेका छन्। डा. रुद्र मरासिनी ११औं तहका अर्थोपेडिक्स सर्जन हुन् र उनले स्वास्थ्य सेवा विभागको इपिडिमियोलोजी र रोग नियन्त्रण महाशाखाको निर्देशक, व्यवस्थापन महाशाखा प्रमुख र भरतपुर अस्पतालको निर्देशकको जिम्मेवारी समालेका छन्। डा. मोहनचन्द्र रेग्मी प्रसूति र स्त्रीरोग विशेषज्ञ हुन् र उनी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको रजिष्ट्रारको रूपमा कार्यरत थिए।
अस्पताल विकास समितिले कार्यकारी निर्देशक नियुक्तिका लागि प्रक्रिया अघि बढाएको हो। समितिले सिफारिसमा रहेका तीन जनामध्ये एक जनालाई नियुक्ति दिने प्रक्रिया अघि बढाउनेछ। अस्पतालका वर्तमान निर्देशक डा. विधाननिधि पौडेलको कार्यकाल २५ फागुनमा समाप्त हुँदैछ।




























