पोखरा, २६ फागुन। औषधि व्यवस्था विभागले विभिन्न ६ प्रकारका एन्टिबायोटिक औषधीहरू खुद्रा फार्मेसीबाट बिक्री गर्न प्रतिबन्ध लगाएको छ। विभागले सोमबार एक सूचना जारी गर्दै मेरोपेनम, कोलिस्टिन, पोलिम्याक्सिम बी, भ्यान्कोमाइसिनलगायतका प्रतिजैविक औषधि बिक्रीमा कडाइ गर्ने निर्णय गरेको हो।
विभागका अनुसार पछिल्लो समय रिजर्भ समूहमा पर्ने प्रतिजैविक औषधिहरूको खपत अत्यधिक बढ्दै गएको देखिएको छ। यस्ता औषधि बिना चिकित्सकीय सिफारिस सहज रूपमा उपलब्ध हुन थालेपछि मानव स्वास्थ्यमा गम्भीर असर पार्न सक्ने भन्दै सरकार सचेत बनेको हो।
पशुपन्छी क्षेत्रमा समेत यस्ता औषधिको अनुगमन नहुँदा मनपरी प्रयोग भइरहेको पाइएको छ। साथै, औषधि सिफारिस गर्ने चिकित्सक, औषधि विक्रेता तथा उपभोक्ताहरूलाई प्रतिजैविक औषधिको वर्गीकरणबारे पर्याप्त ज्ञान नहुँदा यसको दुरुपयोग बढ्दै गएको निष्कर्ष विभागले निकालेको छ।
अनुचित प्रयोगका कारण औषधि प्रतिरोधी जीवाणुहरू विकास हुने जोखिम बढेकोले सरकारले बिक्री वितरणमा कडाइ गर्नुपर्ने आवश्यक देखेको विभागको भनाइ छ। अब प्रतिबन्धित औषधिहरू विशेष मेडिकल स्टोर तथा अस्पतालहरूबाट मात्र प्राप्त गर्न सकिने व्यवस्था मिलाइएको छ।
विभागले एन्टिबायोटिक औषधिहरूको प्रयोगबारे निगरानी बढाउने र अनधिकृत बिक्रीमा संलग्न फार्मेसीलाई कारबाही गर्ने चेतावनी पनि दिएको छ।





























