पोखरा, २६ फागुन। राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रियसभामा उत्पत्ति भएका चार विधेयक प्रमाणित गर्नुभएको छ। अध्यक्ष दाहालले प्रमाणित गरेका ती विधेयकहरू प्रमाणीकरणका लागि मङ्गलबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गरिने संसद् सचिवालयले जनाएको छ।
प्रमाणित विधेयकहरूमा सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८०, विद्युतीय व्यापार विधेयक, २०८०, विधायनसम्बन्धी विधेयक, २०८० तथा भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७६ रहेका छन्। संविधानको धारा ११३ को उपधारा (१) अनुसार राष्ट्रियसभा अध्यक्षले प्रमाणित गरेका विधेयकहरू सोही धारा अन्तर्गत राष्ट्रपतिसमक्ष प्रमाणीकरणका लागि पठाउनुपर्ने संवैधानिक प्रावधान छ।
राष्ट्रपतिले विधेयक प्रमाणीकरण गरेपछि ती विधेयक ऐनका रूपमा लागू हुनेछन्। कानुनी संरचना परिमार्जन तथा व्यापारिक, आर्थिक र सुशासनसम्बन्धी सुधारका दृष्टिले यी विधेयकहरू महत्त्वपूर्ण मानिएका छन्।




























