पोखरा, २६ फागुन। संसदबाट स्वीकृत भएका पाँच वटा अध्यादेशसम्बन्धी प्रतिस्थापन विधेयक २८ गते बस्ने प्रतिनिधिसभाको कार्यसूचीमा राखेर प्रक्रिया अघि बढाइने भएको छ। सोमबार सभामुख देवराज घिमिरेले बोलाउनुभएको प्रमुख सचेतकहरूको बैठकले उक्त निर्णय गरेको हो।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले २८ गते बस्ने प्रतिनिधिसभा बैठकमा स्वीकृत अध्यादेश बमोजिमका प्रतिस्थापन विधेयकहरूको प्रक्रिया अघि बढाइने जानकारी दिनुभयो।

उहाँले २७ गते बस्ने प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का नेता एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्ने कार्यक्रम तय भएको जानकारी पनि दिनुभयो।

बैठकमा छलफल गर्दै लोकतन्त्र र गणतन्त्रका विरुद्धमा केही अराजकतावादी शक्तिहरूले संविधानको अवमूल्यन गरेर गतिविधि सञ्चालन गरेको भन्दै त्यसलाई अस्वीकार गर्ने र संसदबाट त्यस किसिमका गतिविधिमा विशेष ध्यान दिने निर्णय गरिएको छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0