पोखरा, २६ फागुन। नेपालमा सूचना प्रविधि (आईटी) सेवा निर्यातको वास्तविकता कति छ भन्ने विषयमा राष्ट्र बैंक र निजी क्षेत्रका उद्यमीहरूको दाबीबीच ठूलो अन्तर देखिएको छ। चालु आर्थिक वर्ष २०८१/८२ को सात महिनामा राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार आईटी निर्यात १२ अर्ब ४१ करोड रुपैयाँ मात्रै रहेको देखिएको छ। तर, निजी क्षेत्रका उद्यमीहरू भने नेपालबाट कम्तीमा पनि १ खर्ब ४० अर्ब रुपैयाँबराबरको आईटी सेवा निर्यात भएको दाबी गर्छन्।
राष्ट्र बैंकले प्रस्तुत गरेको तथ्यांक र उद्यमीहरूको दाबीबीच यति ठूलो अन्तर हुनुका दुई मुख्य कारण रहेको अधिकारीहरू बताउँछन्। पहिलो, नेपालमा आईटी सेवा निर्यातको लागि छुट्टै वर्गीकरण छैन। राष्ट्र बैंकले ब्यालेन्स अफ पेमेन्ट (बीओपी) टेबुलमा ‘टेलिकम्युनिकेसन, कम्प्युटर तथा सूचना सेवा’ शीर्षकमा समेटिएको छ, जुन अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को म्यानुअलअनुसार हो। यसभित्र सफ्टवेयर सेवा, टेलिकम्युनिकेसनसम्बन्धी सेवा लगायत विभिन्न प्रविधिसम्बन्धी सेवाहरू समेटिएका छन्।
दोस्रो, स्वतन्त्र रूपमा आईटी क्षेत्रमा संलग्न फ्रिलान्सरहरू तथा केही आईटी कम्पनीहरूले आफ्नो कमाइ प्रत्यक्ष रूपमा बैंकिङ प्रणालीमार्फत नल्याई व्यक्तिगत रूपमा रेमिट्यान्सका रूपमा भित्र्याउने गरेको अनुमान राष्ट्र बैंकका अधिकारीहरू गर्छन्। यसरी आएको रकम रेमिट्यान्सको खातामा देखिने भएकाले यसलाई आईटी निर्यातकै रूपमा छुट्याउन सकिने अवस्था हुँदैन।
आईटी सेवा निर्यात गरेबापत प्राप्त हुने रकम स्विफ्ट प्रणालीमार्फत नेपाल भित्रिए पनि यसको सही तथ्यांक प्राप्त गर्न कठिन रहेको राष्ट्र बैंकको भनाइ छ। आईटी उद्यमीहरू भने सरकारले सेवा निर्यातलाई प्रवर्द्धन गर्न र स्पष्ट तथ्यांक सार्वजनिक गर्न पहल गर्नुपर्नेमा जोड दिन्छन्।
राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आर्थिक वर्षको सात महिनामा कम्युटर सफ्टवेयर र सम्बन्धित सेवाबाट ९ अर्ब २१ करोड ६१ लाख रुपैयाँ बराबरको निर्यात भएको छ। टेलिकम्युनिकेसन तथा रोमिङ सेवाबाट ३ अर्ब १६ करोड रुपैयाँ आम्दानी भएको छ।
त्यस्तै, अन्य व्यावसायिक सेवाहरूको निर्यात बापत ३२ अर्ब ५३ करोड रुपैयाँ प्राप्त भएको देखिन्छ। यसमध्ये २० अर्ब ५९ करोड रुपैयाँ व्यापार तथा व्यवस्थापन परामर्श सेवाबाट आएको हो। तर, यसमा शैक्षिक परामर्श सेवाबाट प्राप्त हुने कमिसनको रकमसमेत पर्ने भएकाले आईटी निर्यातको वास्तविक आंकडा फरक हुन सक्छ।
आईटी सेवा अन्तर्गत पर्ने वा नपर्ने अस्पष्टताको अर्को उदाहरण भनेको ‘अन्य प्राविधिक तथा व्यापारसम्बन्धी सेवा’ शीर्षकमा ११ अर्ब ७७ करोड रुपैयाँ देखिएको रकम हो। यसमा कुनै प्राविधिक वा विज्ञले विदेश गएर दिएको सेवाबाट आएको आम्दानी समेटिएको छ, जसले गर्दा यसको सही वर्गीकरण गर्न चुनौतीपूर्ण बनेको छ।
व्यक्तिगत, सांस्कृतिक तथा मनोरञ्जनात्मक सेवाको निर्यातबाट २ अर्ब १३ करोड ३२ लाख रुपैयाँ बराबरको आम्दानी भएको देखिन्छ। यसमध्ये अडियो-भिजुअल सेवाबाट मात्रै १ अर्ब ९८ करोड रुपैयाँ प्राप्त भएको राष्ट्र बैंकले जनाएको छ। टिकटक, युट्युब लगायतका प्लेटफर्मबाट आएको कमाइ यस श्रेणीमा पर्दछ।
आईटी उद्यमीहरू राष्ट्र बैंकको तथ्यांकले आईटी क्षेत्रको वास्तविक निर्यातलाई समेट्न नसकेको बताउँछन्। उनीहरूका अनुसार नेपालमा आईटी सेवा निर्यात एक अर्ब अमेरिकी डलरभन्दा बढी भइसकेको छ। तर, यसलाई औपचारिक रूपमा गणना गर्ने पद्धति नहुँदा सरकारी तथ्यांक निकै न्यून देखिएको हो।
नेपाल सरकारले हाल आईटी निर्यातलाई प्रवर्द्धन गर्ने योजनाहरू अगाडि सारे पनि तथ्यांकको पारदर्शिता र यथार्थ चित्रण गर्ने उपाय खोजिनुपर्ने आवाज उठ्न थालेको छ। यदि आईटी निर्यातको वास्तविकता औपचारिक रूपमा छुट्याएर हेर्न सकिने व्यवस्था भएमा यस क्षेत्रको वृद्धि झनै तीव्र हुने विज्ञहरू बताउँछन्।





























