पोखरा, २७ फागुन। नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले पछिल्ला दिनहरूमा राजावादीहरूले संविधानविरोधी गतिविधि गरेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।
मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले पूर्वराजा ज्ञानेन्द्र शाहकै उक्साहटमा जनता सडकमा उत्रिएको र त्यहाँ संविधान तथा राष्ट्रहित विपरीतका गतिविधि भइरहेको दाबी गरे। उनले पञ्चायतकालीन राष्ट्रिय गान गाइने, हालको राष्ट्रिय गानको अपमान गरिने तथा लोकतान्त्रिक व्यवस्थामाथि प्रश्न उठाउने जस्ता कार्यहरू पूर्वराजाकै निर्देशनमा भइरहेको आरोप लगाए।
बर्तौलाले राजावादी प्रदर्शनहरूमा छिमेकी मुलुक भारतका उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको तस्वीरसमेत प्रयोग गरिनु गम्भीर विषय भएको उल्लेख गरे। उनले यस्तो गतिविधिले नेपालमा अनावश्यक राजनीतिक तरंग ल्याउने भन्दै यसलाई राष्ट्रहित विपरीतको कार्यको संज्ञा दिए।
लोकतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने भन्दै बर्तौलाले संग्रहालयमा थन्किएको राजतन्त्रबाट फेरि शासन गर्ने सपना देख्न नहुने चेतावनी दिए। उनले संविधानविरोधी गतिविधिहरूलाई कानुनी दायरामा ल्याउन सरकारलाई आग्रह गरे।





























