पोखरा, २७ फागुन। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अन्तर्गत वीर अस्पतालको नयाँ निर्देशकमा डा. दिलिप शर्मा नियुक्त भएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीका निजी चिकित्सक समेत रहेका डा. शर्मा नेकपा एमालेनिकट व्यक्तित्व हुन्।
न्याम्स ऐनअनुसार उपकुलपति डा. भुपेन्द्र बस्नेतले स्वास्थ्य तथा जनसंख्या मन्त्री तथा सहकुलपति प्रदीप पौडेललाई तीनजनाको नाम सिफारिस गरेका थिए। सिफारिसमा डा. दिलिप शर्मा, डा. समाज गौतम र डा. अनुपमा कार्की परेका थिए। ती दुई प्रतिस्पर्धीलाई पछि पार्दै शर्मा प्रतिष्ठानको निर्देशक बन्न सफल भएका हुन्।
यसअघि वीर अस्पतालको निर्देशकका रूपमा कार्यरत डा. सन्तोष पौडेलको कार्यकाल गत ४ फागुनमा सकिएपछि डा. समाज गौतमले निमित्त निर्देशकको जिम्मेवारी सम्हालिरहेका थिए। अब भने डा. शर्माले अस्पतालको नेतृत्व सम्हाल्ने भएका छन्।
डा. शर्माले यसअघि नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारका रूपमा समेत काम गरिसकेका छन्। साथै, चिकित्सा शिक्षा आयोग लगायतका संस्थामा पनि उनले महत्वपूर्ण भूमिका निभाएका थिए। उनको नियुक्तिलाई लिएर चिकित्सा क्षेत्रका विज्ञहरूमध्ये मिश्रित प्रतिक्रिया देखिएको छ।





























