पोखरा, २८ फागुन। प्रतिनिधि सभा बैठकमा नेपाली कांग्रेसका महामन्त्री गगन थापा सम्बोधन गरिरहेका बेला एकछिन हल्लीखल्ली भएको छ। मंगलबारको विशेष समयमा थापा आफ्नो भनाइ राखिरहेका थिए, तर बीचमै सांसदहरू पछाडि फर्किएर हेर्न थाले। सभामुखले पनि ‘हेर्नु–हेर्नु’ भनेको सुनिएपछि संसदमा केहीबेर अन्योलको स्थिति सिर्जना भयो।
थापाले पनि आफ्नो सम्बोधन रोकेर पछाडि फर्किएर हेरे। केही क्षणको खैलाबैलापछि उनले फेरि आफ्नो भनाइ निरन्तरता दिए। यो घटनापछि विभिन्न अनुमानहरू लागे पनि नेपाली कांग्रेसका एक सांसदले दिएको जानकारीअनुसार नेकपा एमालेकी सांसद उर्मिला थेबे बसेको कुर्सी भाँचिएको कारण संसदमा खैलाबैला भएको हो।
सांसद थेबे बसेको कुर्सी अचानक भाँचिएपछि उनी अचम्ममा परेकी थिइन्। त्यसपछि उनी अर्को सीटमा गएर बसिन्। अप्रत्याशित रूपमा भएको यो घटनाले केहीबेर संसदको ध्यान तान्यो।
यसदिन संसद बैठकमा राजावादी गतिविधिहरूको विषयलाई लिएर छलफल भइरहेको थियो। प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस महामन्त्री गगन थापा, एमाले सचिव गोकर्ण विष्ट लगायतका नेताहरूले बैठकमा आफ्ना धारणा राखिरहेका थिए।





























