पोखरा, २८ फागुन। समाजवादी मोर्चाले गणतन्त्रविरुद्ध गम्भीर षड्यन्त्र भइरहेको भन्दै सशक्त प्रतिवाद गर्ने घोषणा गरेको छ। मंगलबार बसेको मोर्चाको बैठकले राजतन्त्र पुनर्स्थापना गर्ने प्रयत्न भइरहेको निष्कर्ष निकाल्दै हजारौं नागरिकलाई सडकमा उतार्ने चेतावनी दिएको हो।
बैठकपछि नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले हालै विकसित राजनीतिक परिस्थितिको गम्भीर विश्लेषण गरिएको बताए। उनले २०४६, २०५२, २०६२/६३ को आन्दोलनपछि गणतन्त्रको स्थापनासँगै मुलुकले प्रगति गर्दै गरेको बेला पुनः राजतन्त्र पुनर्स्थापनाका लागि षड्यन्त्र भइरहेको आरोप लगाए। ‘जनताले तिरस्कार गरिसकेको राजतन्त्रलाई जबरजस्ती लाद्ने प्रयास भइरहेको छ। यो आफैंमा आपत्तिजनक छ, प्रतिगामी कदम नेपाली जनताले स्वीकार्ने छैनन्,’ उनले भने।
प्रकाण्डले समाजवादी मोर्चासहित प्रगतिशील, लोकतान्त्रिक, गणतन्त्रवादी सबै दल र नागरिक समाजले समेत यसविरुद्ध एकजुट भएर सशक्त प्रतिवाद गर्ने बताए। मोर्चाले चैत १ गते बुद्धिजीवी तथा नागरिक समाजसँग अन्तर्क्रिया कार्यक्रम गर्ने, त्यसै दिन दिउँसो पत्रकार सम्मेलन गर्ने तथा चैत १५ गते काठमाडौंमा गणतन्त्र पक्षधर हजारौं नागरिकको सहभागितामा विरोध प्रदर्शन तथा सभा गर्ने निर्णय गरेको छ।
राजनीतिक परिवर्तनका उपलब्धिहरू उल्ट्याउने कुनै पनि गतिविधि सह्य नहुने बताउँदै प्रवक्ता विश्वकर्माले लोकतान्त्रिक दलहरूसँग पनि संवाद गर्ने जानकारी दिए। मोर्चामा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) तथा अन्य वामपन्थी दलहरू सहभागी छन्।





























