पोखरा, २८ फागुन। नासा र स्पेसएक्सले सूर्यबाट महत्वपूर्ण वैज्ञानिक डेटा सङ्कलन गर्न एउटै रकेटमार्फत दुईवटा नयाँ मिसन सफलतापूर्वक प्रक्षेपण गरेका छन्। एसपेयरएक्स (SPHEREx) र पन्च (PUNCH) नामक यी मिसनहरू प्रशान्त समयअनुसार बिहान ८:१० बजे प्रक्षेपण गरिएको नासाले जनाएको छ।

प्रक्षेपणपश्चात् नासाले सबै उपकरणहरू सफलतापूर्वक तैनात भएको पुष्टि गरेको छ। एसपेयरएक्सले आकाशको अप्टिकल र इन्फ्रारेड प्रकाशको सर्वेक्षण गर्नेछ भने, मिल्की वे ग्यालेक्सीका करिब १० लाख ताराहरूको विस्तृत डेटा सङ्कलन गर्नेछ। नासाका अनुसार, यो उपग्रहले प्रत्येक छ महिनामा सम्पूर्ण आकाश स्क्यान गरी ९६ विभिन्न रङ ब्यान्डमा विस्तृत नक्सा तयार गर्नेछ।

त्यसैगरी, पन्च मिसनले सूर्य र यसको वायुमण्डलको विस्तृत अध्ययन गर्न चार सुटकेस आकारका उपग्रहहरूको प्रयोग गर्नेछ। यी उपग्रहहरू पृथ्वीको तल्लो कक्षामा रहेर आपसमा समन्वय गर्दै थ्रीडी अवलोकन गर्नेछन्।

नासाका वैज्ञानिकहरूका अनुसार, यी नयाँ मिसनहरूले ब्रह्माण्डको इतिहास बुझ्नका साथै सूर्यको गतिविधि र पृथ्वीमा पर्ने यसको प्रभावबारे थप अध्ययन गर्न महत्वपूर्ण योगदान पुर्याउनेछन्।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0