पोखरा, ५ चैत्र। नेपाली कांग्रेसले पूर्वराजा र राजावादीहरू गणतन्त्रको विरुद्धमा भ्रम सिर्जना गर्न उद्यत रहेको भन्दै त्यसको सशक्त प्रतिवाद गर्ने निर्णय गरेको छ। मंगलबार सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले फागुन २५ गते भएको राजावादी प्रदर्शनको समीक्षा गर्दै यस्तो निष्कर्ष निकालेको हो।

बैठकपछि सहमहामन्त्री महेन्द्र यादवले नेपालमा राजसंस्था पुनःस्थापना असम्भव रहेको उल्लेख गर्दै गणतन्त्रको रक्षा कांग्रेसको पहिलो दायित्व भएको स्पष्ट पारे। उनले संविधान र गणतन्त्रप्रति पार्टी दृढ रहेको जनाउँदै राजावादीको अभियानको विरोध गर्न एकताबद्ध भएर अघि बढ्ने बताए। बैठकले यसबारे थप औपचारिक निर्णय लिन चैत १० गते कार्यसम्पादन समितिको बैठक बोलाउने निर्णय गरेको छ।

बैठकमा गृहमन्त्री रमेश लेखकले राजावादी प्रदर्शनबारे जानकारी गराएका थिए। साथै, समसामयिक राजनीतिक विषय, नेविसंघको अधिवेशन र पार्टी अभियानबारे पनि छलफल गरिएको सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाले जानकारी दिइन्।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0