पोखरा, ५ चैत्र। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राजसंस्थाको पुनःस्थापनाका लागि अध्यक्ष राजेन्द्र लिङ्देनकै नेतृत्वमा आन्दोलन गर्ने निर्णय गरेको छ। मंगलबार बसेको कार्यसम्पादन समितिको बैठकले आन्दोलन परिचालनका लागि आगामी चैत १२ गते मूल समिति बैठक बोलाउने र त्यसमार्फत आन्दोलनका कार्यक्रमहरू निर्धारण गर्ने निर्णय गरेको हो।

यही मुद्दामा समान दृष्टिकोण राख्ने नवराज सुवेदीको नेतृत्वमा संयुक्त जनआन्दोलन समिति गठन भए पनि राप्रपाले उक्त समितिलाई स्वीकार नगर्ने संकेत दिएको छ। पार्टीले समान विचार भएका समूह, व्यक्ति तथा राजनीतिक दलहरूसँग सहकार्यका लागि भने पहल गर्ने बताएको छ।

सुवेदीको नेतृत्वमा समिति गठन हुँदा अध्यक्ष लिङ्देनलाई सहभागी नगराइएकोप्रति राप्रपाभित्र असन्तुष्टि देखिएको छ। वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रको प्रभाव बढेको भन्दै कतिपय नेताहरू असन्तुष्ट छन्। ८६ वर्षीय नेताको संयोजकत्वमा आन्दोलन परिचालन गर्न खोजिएकोमा समेत असहमति जनाइएको छ।

यता, कमल थापाको नेतृत्वमा रहेको राप्रपा नेपालले भने सुवेदीको नेतृत्वलाई स्वीकार गरेको छ। पार्टी उपाध्यक्ष तारानाथ लुँइटेललाई समितिमा प्रतिनिधित्व गराउने निर्णय गर्दै थापाले सुवेदी पक्षलाई समर्थन जनाएका छन्।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0