पोखरा, ७ चैत्र। खानेपानीमन्त्री प्रदीप यादवले बेँसीसहर क्षेत्रको खानेपानी समस्या समाधान भएको बताएका छन्। बुधबार सहलगानी खानेपानी तथा सरसफाइ आयोजना उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा उनले अब बाह्रैमहिना स्वच्छ पानी उपलब्ध हुने सुनिश्चित गरिएको बताए।

सरकारको नीति नागरिकलाई सुरक्षित, भरपर्दो र दिगो खानेपानी सेवा प्रदान गर्नु रहेको उल्लेख गर्दै मन्त्री यादवले हिमाल, पहाड र तराईका दुर्गम क्षेत्रका नागरिकको पानी अभाव पूर्णरूपमा अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले बेँसीसहर क्षेत्रमा खानेपानी सेवा विस्तार गर्न रु १० करोडको नयाँ परियोजना अघि बढाइने तथा जलवायु परिवर्तन तथा दिगो व्यवस्थापनका लागि रु १७ करोडको थप योजना स्वीकृत प्रक्रियामा रहेको जानकारी दिए।

नयाँ आयोजनाले बेँसीसहर नगरपालिका–६ देखि १० का करिब ४५ हजार जनसङ्ख्या तथा तीन हजार ३०० घरधुरीलाई प्रत्यक्ष लाभ पुर्याउनेछ। सार्वजनिक–निजी साझेदारी मोडेलमा सञ्चालित उक्त आयोजनामा सरकारको ७० प्रतिशत र उपभोक्ता समितिको ३० प्रतिशत लगानी रहेको छ। आयोजनाको कुल लागत रु २८ करोड ८३ लाख रहेको छ।

कार्यक्रममा गण्डकी प्रदेशका वन तथा वातावरणमन्त्री भेषबहादुर पौडेल, खानेपानी मन्त्रालयका सचिव प्रमिलादेवी शाक्य बज्राचार्य, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक रामकुमार श्रेष्ठलगायतको उपस्थिति थियो।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0