पोखरा, ७ चैत्र। कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) को आर्थिक सहयोगमा पोखरामा सञ्चालन हुने ‘रिसाइक्लिङ र अपसाइक्लिङ मार्फत हरित रोजगारी सिर्जना’ परियोजनाअन्तर्गत कोसेली घरको शिलान्यास गरिएको छ। पोखरा महानगरपालिका प्रमुख धनराज आचार्य, उपप्रमुख मन्जुदेवी गुरुङ, कोइका नेपालका कन्ट्री डाइरेक्टर मोहेन कोङ, युएनडिपीका एसिया क्षेत्रीय निर्देशक क्रिस्टोफर बहाइटले संयुक्त रूपमा नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा शिलान्यास गरेका हुन्।
नगर प्रमुख आचार्यले हरित रोजगारी सिर्जना गर्दै चक्रीय अर्थतन्त्रको निर्माणमा यस परियोजनाले महत्वपूर्ण योगदान दिने बताए। उनका अनुसार महानगरका १३६ सामुदायिक समूहहरूमार्फत पुनः प्रयोगयोग्य सामग्री निर्माण गरी आर्थिक रूपमा सामुदायिक सशक्तीकरण गर्ने योजना रहेको छ। उनले फोहोरलाई मोहोरमा बदल्ने सोचका साथ परियोजना अघि बढाइएको उल्लेख गरे।
कोइका नेपालका कन्ट्री डाइरेक्टर मोहेन कोङले पोखरा महानगरपालिका र कोइका बीचको सहकार्यलाई बलियो बनाउने विश्वास व्यक्त गरे। उनले परियोजना नेपालका लागि मात्र नभई हरित रोजगारी प्रवर्द्धनको सफल नमुना बन्ने उल्लेख गरे। परियोजनाको पहिलो चरणमा तीन हजारभन्दा बढी प्रत्यक्ष वा अप्रत्यक्ष रोजगारी सिर्जना हुने अपेक्षा गरिएको छ।
































