पोखरा, ८ चैत्र। सत्तारुढ नेकपा एमालेले राजावादी शक्तिहरूको प्रतिगामी प्रयासविरुद्ध देशभर प्रदर्शन गर्ने घोषणा गरेको छ। पार्टीले वडा केन्द्रित अभियानलाई सशक्त बनाउन चैत ११ गते देशभरका सबै वडामा एकसाथ जनसचेतना कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।

संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा जनमत बलियो बनाउन एमालेले नागरिक समाज तथा विभिन्न सरोकारवाला समूहहरूसँग अन्तर संवाद कार्यक्रम गर्ने तयारी गरेको छ। यसै क्रममा चैत १८ गते काठमाडौं उपत्यका, कैलाली, सुर्खेत, रुपन्देही, कास्की, पर्सा र झापा बाहेकका सबै जिल्लामा जिल्लास्तरीय जनप्रदर्शन र जागरणसभा आयोजना गरिने एमालेले जनाएको छ। जागरणसभा नहुने जिल्लाहरूमा वृहत् मोटरसाइकल र्‍याली गरिनेछ।

पार्टीले चैत २४ देखि ३० गतेसम्म धनगढी, सुर्खेत, बुटवल, पोखरा, वीरगञ्ज र दमकमा विशेष सभा आयोजना गर्ने निर्णय गरेको छ। काठमाडौं उपत्यकामा आयोजना गरिने विशेष सभाको मिति भने पछि तय गरिने बताइएको छ। एमालेको यो अभियानले गणतान्त्रिक व्यवस्थाको रक्षा र सुदृढीकरण गर्ने उद्देश्य राखेको पार्टीका नेताहरू बताउँछन्।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0