पोखरा, ९ चैत्र। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल मिर्गौला रोगको उपचारमा विश्वकै सुलभ मुलुकमध्ये एक बन्न सफल भएको बताउनुभएको छ। नेपाल सोसाइटी अफ नेफ्रोलोजीको पाँचौं सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले मिर्गौलासम्बन्धी उपचारमा देशले हासिल गरेको प्रगतिप्रति सन्तोष व्यक्त गर्नुभएको छ।

प्रधानमन्त्री ओलीले स्वास्थ्य सेवालाई आमजनतासम्म पुर्‍याउन नेपाल सरकारले विशेष पहल गरिरहेको उल्लेख गर्दै गरिबी निवारण र जनचेतना विस्तारमार्फत निरोगी नेपाल निर्माणको अभियानलाई सार्थक तुल्याउनुपर्नेमा जोड दिनुभयो। उहाँले नेपालमा मिर्गौला प्रत्यारोपण सेवाको स्तरोन्नति भएसँगै नागरिकले आफ्नै देशमा सहज रूपमा उपचार प्राप्त गर्न सक्ने अवस्था सृजना भएको बताउनुभयो।

स्वयं दुई पटक मिर्गौला प्रत्यारोपण गराउनुभएका प्रधानमन्त्री ओलीले पहिलो पटक भारतमा प्रत्यारोपण गराउनुपरेको स्मरण गर्दै दोस्रो प्रत्यारोपण नेपालमै प्रधानमन्त्रीका हैसियतमा गराउन पाउँदा गर्व महसुस भएको उल्लेख गर्नुभयो।

सम्मेलनमा प्रस्तुत निष्कर्ष सरकारले नीतिगत सुधारका लागि उपयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै प्रधानमन्त्री ओलीले मिर्गौला रोग विशेषज्ञहरूसँग सरकार सधैं सहकार्य गर्न तयार रहेको स्पष्ट गर्नुभयो। कार्यक्रममा नेपाल सोसाइटी अफ नेफ्रोलोजीका अध्यक्ष प्रा. डा. दिव्या सिंह शाहले दक्षिण एसियामा मिर्गौला रोगको समस्या र समाधानका उपायबारे प्रस्तुति दिनुभएको थियो।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0