पोखरा, ९ चैत्र। बागलुङको काठेखोला गाउँपालिका–८ स्थित नर्मदेश्वर शिवालय मन्दिरमा चैत १७ देखि २५ गतेसम्म श्रीमद् देवी भागवत महापुराण नवाह, ज्ञान महायज्ञ आयोजना गरिने भएको छ। मन्दिर संरक्षण समिति र स्थानीयको अगुवाइमा हुन लागेको यस महायज्ञको उद्देश्य धार्मिक पर्यटन प्रवर्द्धन गर्दै लेखानी क्षेत्रलाई आस्थाको केन्द्रका रूपमा स्थापित गर्नु रहेको छ।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा महायज्ञ आयोजक समितिका संयोजक विष्णुप्रसाद कँडेलले महायज्ञबाट संकलित रकमले १ सय ८ धारा निर्माण, पोखरीमा जटाधारी शिवको मूर्ति स्थापना तथा आवश्यक भौतिक पूर्वाधार निर्माण गरिने जानकारी दिए। उनले महायज्ञले धार्मिक, सामाजिक तथा पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने बताए।

यस मन्दिरमा केही वर्षअघि नै १ सय ८ शिवलिंग स्थापना गरिसकिएको छ। अब १ सय ८ धारा निर्माण गरी पानी व्यवस्थापन गर्न महायज्ञ आयोजना गरिएको हो। महायज्ञ अवधिमा विदेशमा रहेका स्थानीयलाई पनि भित्र्याउने लक्ष्य राखिएको छ। साथै, ब्रह्मलिन स्वामी परमानन्द सरस्वती महाराज र ज्ञानानन्द सरस्वतीको जन्मस्थल भएकाले देवघाटधामका धार्मिक पर्यटकलाई समेत यहाँ आकर्षित गर्ने योजना छ।

पत्रकार सम्मेलनमा समितिका सदस्य सचिव खिमानन्द कँडेल, बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष नरेश कँडेललगायतले लेखानी क्षेत्रको धार्मिक, सांस्कृतिक र पर्यटन विकासका लागि यो महायज्ञ फलदायी हुने बताए।

महायज्ञ आयोजनाबाट १ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य राखिएको छ, जसमा २५ लाख रुपैयाँ खर्च हुनेछ भने बाँकी रकम धारा, पानी ट्याङ्की तथा अन्य संरचना निर्माणमा प्रयोग गरिनेछ। साथै, स्थानीय गुम्बा, मठमन्दिरको प्रचारप्रसार गर्दै मध्यपहाडी लोकमार्गको विकल्पको सडक निर्माणका लागि पनि पहल गरिने आयोजकहरूले जानकारी दिए।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0