पोखरा, ११ चैत्र। नेपालमा राजसंस्थाको पुनःस्थापनाका लागि गरिने विरोध प्रदर्शन र आन्दोलनलाई लिएर राजावादीहरूमा नै अन्योल देखिएको छ। पर्याप्त तयारी र स्पष्ट रोडम्यापविना अघि बढ्न खोज्दा उनीहरू रक्षात्मक बनेका छन्। राजसंस्थाको समर्थन गर्दै विभिन्न समूहले विरोध प्रदर्शनको घोषणा गरे पनि आन्तरिक बेमेल, कमजोर तयारी र अस्पष्ट रणनीतिका कारण उनीहरूको आन्दोलन प्रभावहीन हुने देखिएको छ।

राजावादीहरूबीच नै प्रदर्शनको मिति, मोडालिटी र अभियानबारे स्पष्ट समझदारी छैन। पूर्वराजासँग सम्बन्ध विकसित गर्ने प्रतिस्पर्धामा रहेका रवीन्द्र मिश्र, कमल थापा र दुर्गा प्रसाईंबीच नै समन्वयको अभाव छ। यही कारण उनीहरूको आन्दोलन सशक्त रूपमा अघि बढ्न सकेको छैन। राजनीतिक विश्लेषक गेजा शर्मा वाग्लेका अनुसार पूर्वराजा ज्ञानेन्द्र शाह र राजावादी समूहको चाहनाअनुसार आन्दोलन अगाडि बढ्ने सम्भावना कम छ। उनले राजसंस्थाको पुनःस्थापनाका लागि आवश्यक शक्ति र समर्थन राजावादीहरूसँग नरहेको बताएका छन्।

सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्रलाई संवैधानिक राजाका रूपमा पनि अयोग्य रहेको टिप्पणी गरेका छन्। कांग्रेस प्रवक्ता प्रकाशशरण महतले प्रमुख राजनीतिक दलहरू गणतन्त्रको पक्षमा दृढ रहेको र राजसंस्थाको पुनःस्थापनाका लागि देशमा कुनै सम्भावना नरहेको बताएका छन्। नेकपा एमाले र माओवादी केन्द्रजस्ता ठूला दलहरूले राजसंस्थाको पुनःस्थापनाविरुद्ध काउन्टर प्रदर्शन गर्ने घोषणा गरेका छन्।

राजावादी आन्दोलनको नेतृत्व गर्ने प्रमुख दल राप्रपाभित्र नै गहिरो विवाद देखिएको छ। राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा संसद्मा गणतान्त्रिक व्यवस्था भित्रकै सत्तासमीकरणमा सक्रिय रहेको छ, तर कमल थापाको राप्रपा नेपाल र अन्य घटकहरूले लिङ्देनको भूमिकालाई स्वीकार गरेका छैनन्। पूर्वराजासमक्ष आफूलाई नजिक बनाउन खोज्ने प्रयासले राजावादीबीच नै विवाद निम्त्याएको छ।

राजावादीहरूले फागुन २५ गते काठमाडौंमा प्रदर्शन गरेका थिए, जसमा केही हजार सहभागी भएका थिए। सोही प्रदर्शनबाट उत्साहित भएर आन्दोलनलाई बलियो बनाउन खोजिए पनि हालसम्म त्यसको प्रभाव व्यापक हुन सकेको छैन। भैरहवा र गोरखामा गरिएको प्रदर्शनमा अपेक्षित सहभागिता नआउँदा आन्दोलनको प्रभावकारिता झन् कमजोर भएको देखिन्छ।

राजनीतिक विश्लेषक वाग्लेले मुलुकमा देखिएको असन्तुष्टि सरकार र शीर्ष नेतृत्वको असफलताका कारण भएको उल्लेख गर्दै राजसंस्थाको पुनःस्थापना सम्भव नभएको बताएका छन्। उनले लोकतान्त्रिक गणतन्त्रप्रति आमनागरिक प्रतिबद्ध रहेको र जुनसुकै शक्तिले षड्यन्त्र गरे पनि राजतन्त्र पुनःस्थापनाको सम्भावना नरहेको दाबी गरेका छन्।

यसैबीच, समाजवादी मोर्चाले चैत १५ गते काठमाडौंमा गणतन्त्र पक्षधर प्रदर्शनको घोषणा गरेको छ, जसलाई राजावादी समूहले काउन्टर दिने तयारी गरेका छन्। मुलुकमा व्यापक राजनीतिक असन्तोष देखिए पनि राजसंस्थाको पुनःस्थापनाका लागि चाहिने प्रभावशाली जनसमर्थन जुटाउन नसक्दा राजावादीहरू चुनौतीपूर्ण अवस्थामा पुगेका छन्।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0