पोखरा, १२ चैत्र। वर्तमान सरकारको कार्यशैलीप्रति सत्ता साझेदार दलभित्र असन्तुष्टि बढ्दै गएको छ। सत्तासिन नेपाली कांग्रेसका नेताहरु सरकारले अपेक्षित रुपमा काम गर्न नसकेको भन्दै आलोचना गरिरहेका छन्। कांग्रेसभित्रकै नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई प्रभावकारी बनाउन नसकेको आरोप लगाइरहेका छन् भने पार्टीभित्रकै विभिन्न समूहहरु सरकार सञ्चालनको शैलीप्रति असन्तुष्ट देखिएका छन्।
विशेषगरी कांग्रेसका शीर्ष नेताहरु सरकारको ‘डेलिभरी’ प्रभावहीन भएको, महँगी नियन्त्रण गर्न नसकेको र आर्थिक अवस्था सुधार गर्न चुकेको बताइरहेका छन्। पार्टी कार्यसम्पादन समितिमा समेत सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको भन्दै नेताहरुले आक्रोश पोखेका छन्। कांग्रेसको सरकारमा १० मन्त्री र दुई राज्यमन्त्री सहभागी भए पनि सरकारको कार्यसम्पादनले जनतामा सकारात्मक सन्देश दिन नसकेको नेताहरुको निष्कर्ष छ।
पछिल्लो समय कांग्रेसभित्रकै ‘बहुशक्ति’ लाई ओली सरकारले बेवास्ता गरिरहेको गुनासो बढेको छ। प्रधानमन्त्री ओलीले सभापति शेरबहादुर देउवासँग मात्र समन्वय गरेर सरकार चलाइरहेका छन् भन्ने आरोप कांग्रेसका असन्तुष्ट नेताहरुले लगाइरहेका छन्। पार्टीभित्र फरक धार राख्ने नेताहरुलाई बेवास्ता गर्दा असन्तुष्टि झन् चुलिएको छ। कांग्रेसभित्र प्रभावशाली नेता रहेका शेखर कोइराला र उनका समर्थकहरु सरकारको आलोचना गर्दै आएका छन्। विशेष गरी कोशी प्रदेशमा कांग्रेसलाई समुचित प्रतिनिधित्व नदिएको भन्दै कोइराला पक्ष असन्तुष्ट छ।
संस्थापनइतर नेताहरु सरकारले संवैधानिक प्रक्रिया मिच्दै विभिन्न निर्णय गरेको भन्दै विरोध गरिरहेका छन्। अध्यादेश ल्याउने, द्विपक्षीय संयन्त्रको प्रभावकारिता कम गराउने र संविधान संशोधनका विषयमा सरकारको अडानप्रति उनीहरुको गम्भीर आपत्ति रहेको छ। कांग्रेसकै नेताहरुले सरकारको कार्यशैलीलाई लिएर निरन्तर प्रश्न उठाइरहेका छन्।
सरकारले नियुक्ति प्रक्रियामा पारदर्शिता नअपनाएको भन्दै कांग्रेसभित्र विरोध भइरहेको छ। नेपाल धितोपत्र बोर्ड, बीमा प्राधिकरण लगायतका निकायमा नियुक्ति गर्दा विधि मिचिएको र योग्यताको आधारमा नभइ निकट व्यक्तिहरुलाई मात्रै अवसर दिएको आरोप कांग्रेस नेताहरुले लगाएका छन्।
सरकार र कांग्रेसबीच सम्बन्ध चिसिँदै जाँदा कांग्रेसका प्रभावशाली नेताहरुले सरकारलाई सुधार गर्न सुझाव दिइरहेका छन्। महामन्त्री गगन थापाले सरकारको आलोचना गर्दै कुलमान घिसिङ जस्ता व्यक्तिहरुलाई अनावश्यक रुपमा विवादमा तान्ने शैली गलत भएको बताएका छन्।
सत्ता साझेदारीका बीच बढ्दो असन्तुष्टिले आगामी दिनमा सरकारको स्थायित्वलाई थप चुनौती दिन सक्ने आँकलन राजनीतिक विश्लेषकहरुले गरिरहेका छन्। सरकारको कामप्रति असन्तुष्ट कांग्रेस नेताहरुले अब ठोस निर्णय लिनुपर्ने अवस्था आएको बताइरहेका छन्।




























