पोखरा, १२ चैत। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफ्ना कर्मचारीहरूले अझै तलब नपाए कडा कदम चाल्ने चेतावनी दिएका छन्। उनले अबको एक हप्ताभित्र तलब नआए सबैलाई टुकुचामा गाडिदिने भन्दै सरकारलाई घेराबन्दी गरेका छन्।
मेयर शाहले सामाजिक सञ्जालमार्फत सरकारकै दम्भका कारण महानगरका सरसफाइ कर्मचारीहरूले तीन महिनादेखि तलब नपाएको खुलासा गरेका छन्। उनले सरकारी निकायहरूको लापरबाहीप्रति असन्तोष प्रकट गर्दै सरकारको असक्षमता उजागर गरेका छन्। “काठमाडौं महानगरपालिकाको सरसफाइ कर्मचारीले विगत तीन महिनादेखि तलब पाएका छैनन्, सरकारको दम्भले,” शाहले लेखेका छन्, “को कोले के के आन्दोलन गर्ने हो, मलाई थाहा छैन। अबको एक हप्तामा हाम्रो कर्मचारीले तलब पाएन भने सबैलाई टुकुचामा गाडिदिन्छु!”
उनले दलका नेताहरूलाई संकेत गर्दै थप कटाक्ष गरेका छन्। “त्यसपछि हेरौंला तिमीहरूको के के तन्त्र हो!” भन्दै उनले सरकारको उदासीनताविरुद्ध रोष प्रकट गरेका छन्।
सरकारको ढिलासुस्तीका कारण स्थानीय निकायमा आर्थिक समस्या उत्पन्न भइरहेको बेला मेयर शाहको यस्तो चेतावनी आएको हो। अब सरकारले कस्तो प्रतिक्रिया दिन्छ भन्ने चासो बढेको छ।




























