पोखरा, १५ चैत्र। काठमाडौंमा आज हुने गणतन्त्रवादी र राजतन्त्रवादीहरूको प्रदर्शनलाई मध्यनजर गर्दै सरकारले सुरक्षा व्यवस्था कडा बनाएको छ। सम्भावित जोखिम रोक्न काठमाडौंका विभिन्न स्थानमा थप सुरक्षाकर्मी परिचालन गरिएको गृह मन्त्रालयले जनाएको छ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यका अनुसार, प्रदर्शनस्थल र आसपासका क्षेत्रमा २५ सयभन्दा बढी प्रहरी खटाइनेछ। उनले प्रदर्शनको क्रममा अप्रिय घटना हुन नदिन सादा पोसाकका प्रहरी समेत परिचालन गरिने बताए। राजधानीमा हुने प्रदर्शनको निगरानीका लागि भद्रकालीस्थित जिल्ला प्रहरी परिसरमा ‘कमान्ड सेन्टर’ सञ्चालन गरिएको छ।

यसैगरी, उपत्यकाको ट्राफिक व्यवस्थापन सहज बनाउन १,८०० ट्राफिक प्रहरी खटाइने छन्। ट्राफिक प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक दीपक गिरीका अनुसार, आवश्यकताअनुसार सवारी साधनलाई अन्यत्र मोड्ने व्यवस्था मिलाइनेछ।

राजावादीहरूले तीनकुनेमा र गणतन्त्र पक्षधरहरूले भृकुटीमण्डपमा प्रदर्शन गर्ने तय भएको छ। सरकारले प्रदर्शनलाई व्यवस्थित गर्न र शान्ति सुव्यवस्था कायम राख्न विशेष सुरक्षा रणनीति अपनाएको छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0