पोखरा, १५ चैत्र। पोखरामा पहिलोपटक आयोजित ‘नाडा प्रिजेन्ट्स वाडा अटो शो २०२५’ हिजोदेखि अमरसिंहचौरमा सुरू भएको छ। पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसन (वाडा) को आयोजनामा सञ्चालन हुन लागेको चारदिने अटो शोको सम्पूर्ण तयारी पूरा भइसकेको वाडाले जनाएको छ।
बिहीबार बिहान ११ बजेदेखि औपचारिक रूपमा उद्घाटन भएको अटो शोमा १९ वटा ब्रान्डका चारपाङ्ग्रे, ६ वटा ब्रान्डका लाइट कमर्शियल, ७ वटा ब्रान्डका दुईपाङ्ग्रे सवारी साधनहरू प्रदर्शनमा रहेका छन् । साथै, लुब्रिकेन्ट, टायर, ग्यारेज उपकरण, अन्य एसेसरिज तथा वित्तीय संस्थाहरूका २० वटा स्टलहरू रहेका छन् ।
कार्यक्रमलाई प्रभावकारी बनाउन अटो शो अघि नै पोखरा उपत्यकाभित्र मोटर रेस, केभ टु केभ मोटरसाइकल र्याली तथा सरसफाइ कार्यक्रम आयोजना गरिएको थियो। आयोजक वाडाका अध्यक्ष दीपेन्द्र कोइरालाका अनुसार प्रदर्शनीले शिथिल बनेको अटो बजारलाई चलायमान बनाउनुका साथै ‘भिजिट पोखरा २०२५’ लाई पनि टेवा पुग्नेछ।
अटो शोमा नवीनतम सवारी साधनका मोडलहरू तथा आधुनिक प्रविधिहरू प्रदर्शन गरिनुका साथै डिलर, उत्पादक, विक्रेता तथा ग्राहकहरूको जमघट हुनेछ। प्रदर्शनीले गण्डकी प्रदेशमा सवारी साधन तथा सम्बन्धित सेवाको बजारीकरण, विस्तार तथा विकासमा टेवा पुर्याउने आयोजकहरूको विश्वास छ।
कार्यक्रमका दौरान जिल्ला ट्राफिक प्रहरी कार्यालयको सहकार्यमा सडक सुरक्षा तथा ट्राफिक नियमसम्बन्धी जानकारीमूलक कार्यक्रमहरू सञ्चालन गरिनेछन्। साथै, बन्दीपुर केबुलकार एण्ड टुरिजम लिमिटेडले डोर प्राइजअन्तर्गत ३ सय वटा केबुलकार टिकट उपलब्ध गराउनेछ, जसलाई टिकट खरिद गर्ने दर्शकहरूले गोलाप्रथाद्वारा जित्न सक्नेछन्। आयोजकका अनुसार चार दिनसम्म चल्ने अटो शोमा करिब ३५ हजार दर्शकको उपस्थिति रहने अपेक्षा गरिएको छ।
प्रदर्शनीमा गण्डकी प्रदेश सरकार तथा पोखरा महानगरपालिकाको प्रवर्द्धन रहेको छ भने पोखरा उद्योग वाणिज्य संघ, युनाइटेड क्लब पोखरा तथा अमरसिंह माविले सहकार्य गरिरहेका छन्। टिकटिङ पार्टनर खल्ती एप, इन्टरनेट पार्टनर पोखरा इन्टरनेट, फायर सेफ्टी सपोर्ट हिटको प्रा. लि., अफिसियल इन्सुरेन्स सगरमाथा लुम्बिनी इन्सुरेन्स (सलिको), ट्राभल पार्टनर स्वीफ्ट होलिडेज, हस्पिटालिटी पार्टनर होटल शारा, हस्पिटल पार्टनर नेपाल मनिपाल कलेज अफ मेडिकल साइन्स (मनिपाल हस्पिटल) रहेका छन्। प्रदर्शनीको व्यवस्थापन ग्लोबल एक्सपोजिसन एण्ड म्यानेजमेन्ट सर्भिसेज (जेम्स) ले गरिरहेको छ।





























