पोखरा, १५ चैत्र। निलकण्ठ नगरपालिका धादिङ र आयोजक ललितपुर महानगरपालिकाले बागमती प्रदेशस्तरीय अन्तरपालिका मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेका छन्। बिहीबार जावलाखेल भलिबल प्रशिक्षण केन्द्र कभर्डहल जावलाखेलमा सम्पन्न प्रतियोगितामा निलकण्ठले महिलातर्फ र ललितपुरले पुरुषतर्फ च्याम्पियन बनेका हुन्।
महिलातर्फ निलकण्ठले महालक्ष्मी नगरपालिकालाई २५-१५, २५-२३, २७-२५ ले हराउँदै उपाधि जितेको हो। पुरुषतर्फ आयोजक ललितपुरले महांकाल गाउँपालिकालाई ३-० को सेटमा हराउँदै उपाधि जित्यो। ललितपुरले महांकाललाई २५-१७, २५-२०, २५-१७ को स्कोरमा पराजित गर्यो।
यसैगरी, पुरुषतर्फ मन्थली नगरपालिका तथा महिलातर्फ आयोजक ललितपुर तेस्रो भएको छ। मन्थलीले मेलुङ गाउँपालिकालाई २५-१५, २५-१६, २५-२२ ले हरायो भने महिलातर्फ ललितपुरले बिगु गाउँपालिकालाई पराजित गर्दै तेस्रो स्थान प्राप्त गरेको हो।
प्रतियोगिताको विजेता निलकण्ठ र ललितपुरले समान दुई लाख रुपैयाँ पुरस्कार प्राप्त गरे भने उपविजेता महालक्ष्मी र महांकालले एक लाख रुपैयाँमा चित्त बुझाएका छन्। तेस्रो हुने टोलीहरूले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे।
गति चैत १० गतेबाट सुरु भएको यस प्रतियोगितामा महिलातर्फ ८ र पुरुषतर्फ १४ टिमको सहभागिता रहेको थियो।
































