१५ चैत, काठमाडौं। गणतन्त्रवादी र राजावादी समूहहरूले काठमाडौं उपत्यकामा आज प्रदर्शन गर्ने तयारी गरेका छन्। गणतन्त्रवादी प्रदर्शन प्रदर्शनीमार्गमा, जबकि राजावादी प्रदर्शन तिनकुनेमा हुने भएपछि राजधानीको यातायात व्यवस्थामा बिहानैदेखि असर परेको छ।
गणतन्त्रवादी प्रदर्शनको नेतृत्व समाजवादी मोर्चाले गरेको छ, जसमा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी र विप्लव नेतृत्वको नेकपा सामेल छन्।
प्रदर्शन औपचारिक रूपमा सुरु नहुँदै काठमाडौंका विभिन्न स्थानमा सवारी आवागमन अवरुद्ध भएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरीले संवेदनशील क्षेत्रमा ब्यारिकेड राखेका छन् भने ट्राफिक प्रहरीहरू आवागमन व्यवस्थापनमा खटिएका छन्।
काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एआईजी टेकबहादुर तामाङका अनुसार प्रदर्शनस्थलहरूमा २५०० भन्दा बढी प्रहरी खटाइएको छ। आवश्यकता परे थप सुरक्षाकर्मी परिचालन गरिने उनले बताए। यस्तै, सशस्त्र प्रहरी बलका प्रवक्ता डीआईजी कुमार न्यौपानेका अनुसार ५० प्लाटुन (लगभग १७५० सुरक्षाकर्मी) सशस्त्र प्रहरी परिचालन गरिएको छ।
सुरक्षालाई थप प्रभावकारी बनाउन सादा पोशाकमा समेत सुरक्षाकर्मी खटाइएका छन्, जसले अप्रिय गतिविधि हुन नदिन र घुसपैठ नियन्त्रण गर्न भूमिका खेल्नेछन्।
राजधानीका मुख्य सडकमा प्रहरीको उपस्थिति बाक्लो छ भने सवारीसाधनको आवागमन प्रभावित हुन थालेको छ। स्थिति नियन्त्रणमा राख्न सुरक्षा निकायहरूले उच्च सतर्कता अपनाएका छन्।




























