काठमाडौं, १५ चैत। समाजवादी मोर्चाले आज काठमाडौंमा व्यापक शक्ति प्रदर्शन सुरु गरेको छ। उपत्यकाका विभिन्न स्थानबाट निस्किएको जुलुस भृकुटीमण्डपतर्फ अघि बढिरहेको छ। मोर्चामा आवद्ध दलका शीर्ष नेताहरूको नेतृत्वमा चारवटा मुख्य रुटमार्फत प्रदर्शनकारीहरू भृकुटीमण्डपमा जम्मा भइरहेका छन्।
पूर्वी क्षेत्रबाट आउने समूह कोटेश्वर हुँदै बबरमहलमा जम्मा हुँदैछ, जसको नेतृत्व माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, गिरिराजमणि पोखरेल, मातृका यादव लगायत नेताहरूले गरिरहेका छन्। दक्षिणतर्फ ललितपुर क्षेत्रबाट कुपण्डोलमा जम्मा हुने समूहको नेतृत्व माओवादी नेतृ पम्फा भुसाल, यशोदा सुवेदी, जयपुरी घर्ती लगायतले गरिरहेका छन्।
त्यस्तै, पश्चिमी क्षेत्रबाट कलंकी हुँदै आउने समूह त्रिपुरेश्वरमा भेला भइरहेको छ। यो समूहको नेतृत्व माओवादी उपमहासचिव जनार्दन शर्माले गरिरहेका छन्, उनीसँगै अञ्जना विसंखे, शालिकराम जम्मकट्टेल, देवेन्द्र पराजुली लगायत छन्। उत्तर पश्चिमतर्फ बालाजु हुँदै आउने समूह सोह्रखुट्टेमा जम्मा हुँदैछ, जसको नेतृत्व शक्तिबहादुर बस्नेतले गरिरहेका छन्।
समाजवादी मोर्चाले आजको प्रदर्शनलाई सरकारविरुद्धको चेतावनीका रूपमा लिएको छ। जुलुसमा सहभागी कार्यकर्ताहरूले भ्रष्टाचारविरोधी नारा लगाउँदै काठमाडौंका मुख्य सडकमा र्याली गरिरहेका छन्। प्रदर्शनलाई व्यवस्थित बनाउन प्रहरी प्रशासनले सुरक्षात्मक तयारी गरेको छ भने ट्राफिक व्यवस्थापनमा पनि थप सावधानी अपनाइएको छ।




























