काठमाडौं, १५ चैत्र। काठमाडौंको कोटेश्वरस्थित भाटभटेनी सुपरस्टोरमा राजावादी प्रदर्शनकारीहरूको समूहले लुटपाट मच्चाएको छ। तीनकुनेबाट तितरबितर भएपछि कोटेश्वर पुगेका प्रदर्शनकारीहरूले सर्वप्रथम सुपरस्टोरमा तोडफोड गरेका थिए। त्यसपछि उनीहरूले बंगलादेशमा भएको लुटपाटको शैलीमै भाटभटेनीभित्र प्रवेश गरी आफूखुसी सामान उठाउँदै लगेका छन्।

स्थिति तनावग्रस्त बनेपछि सुपरस्टोरका सञ्चालकले सम्भावित क्षतिको अनुमान गर्दै सटर बन्द गरेका थिए। तर, आक्रोशित भीडले सुपरस्टोरको ढोका फोडेर भित्र प्रवेश गरी तोडफोडसँगै लुटपाट थालेका थिए। प्रत्यक्षदर्शीहरूका अनुसार प्रदर्शनकारीहरूले गाडीमा राखेर महँगा सामानहरू लगेका थिए। त्यसक्रममा सुरक्षाकर्मीको उपस्थित कमजोर देखिएको थियो, जसका कारण लुटपाट अझै सजिलै भएको थियो।

भाटभटेनी सुपरस्टोरका विभिन्न शाखाहरूमा सुरक्षा सतर्कता अपनाइए पनि राजावादी समूहको उग्र गतिविधिका कारण कोटेश्वरको सुपरस्टोरलाई जोगाउन सकिएको थिएन। प्रदर्शनकारीहरूले सामान लुटपाट गर्नुका साथै तोडफोड र आगजनीसमेत गरेका छन्। तोडफोडका क्रममा ढोका, सिसा, काउन्टरहरूमा क्षति पुगेको छ।

यस घटनापछि प्रहरीले स्थिति नियन्त्रणमा लिने प्रयास गरिरहेको छ। लुटपाटको अनुसन्धान थालिएको र सुरक्षाकर्मीको उपस्थिति कडा पारिएको जनाइएको छ। तर, प्रदर्शन अझै उग्र बनेका कारण राजधानीको अन्य क्षेत्रहरूमा पनि सतर्कता अपनाइएको छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0