काठमाडौं, १५ चैत्र। राजधानीमा राजावादी प्रदर्शन हिंसात्मक बन्दै गएपछि गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको आकस्मिक बैठक सुरु भएको छ। प्रदर्शनका क्रममा तोडफोड, आगजनी र लुटपाट मच्चाएपछि सरकारले आपत्कालीन सुरक्षा रणनीति तय गर्न बैठक आयोजना गरेको हो।
बैठकमा गृहमन्त्री रमेश लेखक, काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारी, सुरक्षा निकायका उच्च अधिकारीहरू र गृह मन्त्रालयका पदाधिकारीहरू सहभागी छन्। बैठकको प्रमुख एजेन्डा राजावादी आन्दोलन नियन्त्रण गर्दै राजधानीको सुरक्षालाई सुदृढ बनाउने रहेको बताइएको छ।
राजावादी समूहले शुक्रबार तीनकुनेमा अराजक प्रदर्शन गर्दै सञ्चारगृह, घर र सार्वजनिक सम्पत्तिमा आक्रमण गरेपछि कोटेश्वर पुगेका थिए। त्यहाँ उनीहरूले भाटभटेनी सुपरस्टोरमा तोडफोड, आगजनी र लुटपाट गरेका छन्। आन्दोलन हिंसात्मक मोड लिँदै गएपछि प्रशासनले सेना परिचालन गर्नेसम्मको तयारी गरेको छ।
काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी अशोककुमार भण्डारीका अनुसार प्रमुख जिल्ला अधिकारी तिवारी बैठकमा सहभागी हुन गृहमन्त्रालय पुगिसकेका छन्। सुरक्षा निकायका प्रमुखहरूले परिस्थिति नियन्त्रण गर्न आवश्यक उपायहरूबारे छलफल गरिरहेका छन्।
प्रदर्शनले अराजक रूप लिँदा सर्वसाधारण त्रसित बनेका छन् भने व्यवसायीहरू आफ्नो सम्पत्तिको सुरक्षाका लागि चिन्तित छन्। सरकारले अब कस्तो कदम चाल्नेछ भन्ने चासो बढ्दै गएको छ।




























