पोखरा, २१ चैत्र। भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरूङले दुर्गा प्रसाईंलाई ‘गुण्डा नाइके’ को संज्ञा दिएका छन्। उनले विगतमा धरानमा गुण्डागर्दी मौलाउँदा व्यवसायीहरू पलायन भएको उदाहरण दिँदै प्रसाईंको गतिविधिले देशको व्यवसायिक वातावरणलाई विथोलिरहेको आरोप लगाए।

गुरूङले चैत १५ गते तीनकुनेमा भएको प्रदर्शनका क्रममा भाटभटेनी सुपरमार्केटमा ढुंगा प्रहार र लुटपाट हुँदा करिब ८० लाख रुपैयाँ बराबरको क्षति पुगेको बताए। राज्यको लाचारीकै कारण यस्तो घटना हुन पुगेको उनको दाबी छ। उनले प्रसाईं लामो समयदेखि व्यवसायीहरूमाथि धावा बोल्दै आएको र राज्यले उचित कदम नचालेकै कारण तीनकुनेमा हिंसात्मक घटना घटेको आरोप लगाए।

सुरक्षा गार्ड दुलप्रसाद पराजुलीले लुटेराहरूको प्रतिकार गरेकामा भाटभटेनीले उनलाई ५ लाख रुपैयाँ नगद पुरस्कार र पाँच ग्रेड बढुवा गरेको छ। यही सम्मान कार्यक्रमका क्रममा गुरूङले प्रसाईंको आह्वानमा गरिएको प्रदर्शनमा तोडफोड, आगजनी र दुई युवाको मृत्यु भएको उल्लेख गरे।

गुरूङले प्रसाईंको गतिविधिले राजसंस्था फर्कन नसक्ने स्पष्ट पार्दै भाटभटेनीमा भएको आक्रमणको आलोचना गरे। ‘राजसंस्था फिर्ता ल्याउन, संविधान मेटाउन लुटपाट गर्नुपर्ने हुन्छ?’ भन्दै उनले प्रसाईंको कार्यशैलीको कटाक्ष गरे।

गुरूङले देशमा व्यवसायीहरू असुरक्षित भएको गुनासो गर्दै ‘संगठित अपराध’ भन्दै आफूलाई जेल हाल्ने तर डन प्रवृत्तिका व्यक्तिलाई छुट दिने राज्यको व्यवहारप्रति आक्रोश व्यक्त गरे। उनले नागरिकलाई गलत प्रवृत्तिहरूबाट सचेत रहन आग्रह गर्दै अन्यायविरुद्ध लड्नुपर्ने बताए।

गुरूङले चैत १५ गतेको आन्दोलनका क्रममा भाटभटेनीमा भएको आक्रमणलाई निन्दनीय भन्दै यस्तो प्रवृत्तिले देशमा अराजकता मात्र फैलाउने चेतावनी दिए।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0