पोखरा, २२ चैत्र। प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच थाइल्याण्डको राजधानी बैंककमा करिब ३५ मिनेट एकान्त वार्ता सम्पन्न भएको छ। उच्चस्तरीय स्रोतका अनुसार, शुक्रबार मोदी बसेको ओरियन्टल होटलमा भएको यो संवाद पूर्णतः निजी प्रकृतिको रह्यो, जहाँ दुवै देशका कुनै पनि अधिकारी सहभागी थिएनन्।
दुवै नेताबीच यसअघि न्युयोर्कमा संक्षिप्त भेट भए पनि त्यसलाई ‘आइसब्रेक’को रूपमा मात्र लिइएको थियो। यसपटकको संवादले दुई मुलुकबीचको सम्बन्धलाई नयाँ मोड दिने अपेक्षा गरिएको छ। प्रधानमन्त्री ओलीको सचिवालयका एक सदस्यका अनुसार, छलफलमा द्विपक्षीय विश्वास अभिवृद्धि गर्नका लागि विविध विषयमा कुराकानी भएको हो।
प्रधानमन्त्री ओलीले भेटपछि ट्वीटरमार्फत भारतीय प्रधानमन्त्रीसँगको न्यानो संवादबारे जानकारी दिँदै छलफल रचनात्मक र अर्थपूर्ण भएको उल्लेख गरेका छन्। उनले दुई देशबीचको आपसी विश्वासको प्रशंसा गर्दै धन्यवादसमेत व्यक्त गरेका छन्।
भेटवार्ताको क्रममा प्रधानमन्त्री ओलीले भारतीय समकक्षी मोदीलाई जेठमा काठमाडौंमा हुने ‘सगरमाथा संवाद’ कार्यक्रममा सहभागी हुन निमन्त्रणा दिएका छन्। मोदीले सम्भव भएसम्म कार्यक्रममा सहभागी हुने आश्वासन दिँदै निम्तोको लागि धन्यवाद व्यक्त गरेका छन्।
भारतीय पक्षका अनुसार, यो वार्ता विशेष गरी द्विपक्षीय विकास साझेदारी, ऊर्जा सहयोग, जनस्तरको सम्बन्ध विस्तार र पारवहन सुविधा (कनेक्टिभिटी) प्रवर्धनमा केन्द्रित थियो। भेटपछी प्रधानमन्त्री ओली सांग्रिला होटल फर्किएका छन् भने अब उनी नेपाली दूतावासको अवलोकनमा निस्कने कार्यक्रम तय गरिएको छ।




























