पोखरा, २३ चैत्र। गण्डकी प्रदेश नीति तथा योजना आयोगमा पोखराकी दुर्गा लामिछाने र पर्वतका योगेन्द्रराज रिजाललाई नयाँ सदस्यका रूपमा नियुक्त गरिएको छ। यो निर्णय शुक्रबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले गरेको हो। लामिछाने नेपाली कांग्रेसको कोटाबाट र रिजाल नेकपा एमालेको कोटाबाट आयोगको सदस्य नियुक्त भएका हुन्।
दुर्गा लामिछाने कास्कीको लेखनाथकी नागरिक हुन् र नेपाली कांग्रेस महाधिवेशनका प्रतिनिधि पनि हुन्। उनी इन्टरनेसल रिलेसन र डिप्लोमेसीका पिएचडी स्कलर हुन्। लामिछानेले आफ्नो अध्ययन र अनुभवमार्फत गण्डकी प्रदेशको नीति निर्माणमा महत्वपूर्ण योगदान दिने अपेक्षा गरिएको छ।
यस्तै, योगेन्द्रराज रिजाल समाज विज्ञानका क्षेत्रका विज्ञ हुन्। उनी गण्डकी प्रदेश सरकारले गठन गरेको कालीगण्डकी सम्भाव्यता अध्ययन समितिको सदस्य पनि थिए। रिजालको अनुभव र दक्षता आयोगमा नयाँ दृष्टिकोण ल्याउने विश्वास गरिएको छ।































