पोखरा, २४ चैत्र। ‘सुन्दर ठाउँ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँः आलु एक परिकार अनेक’ भन्ने मूल नाराका साथ १३ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव आजदेखि सुरु भएको छ। विष्णुपादुका क्लवको आयोजनामा सुरु भएको महोत्सवको उद्घाटन पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले गर्नुभयो। प्रमुख आचार्यले महोत्सवले कृषिलाई प्रवर्द्धन गर्दै किसानप्रति महानगरको साथ रहेको स्पष्ट पार्नुभयो। उहाँले आलु महोत्सवलाई महानगरले आफ्नै कार्यक्रमझैं लिएको भन्दै आवश्यक सहयोग निरन्तर गरिने प्रतिबद्धता जनाउनुभयो।

महोत्सवमा आलु तथा ताजा तरकारीको बृहत् प्रदर्शन, आलुको पहाड निर्माण, विभिन्न परिकारहरूको स्वाद, माटो परीक्षणदेखि रोग निदानसम्मका प्राविधिक सेवाहरू प्रस्तुत गरिएका छन्। कृषक र कृषि प्रेमीका लागि कृषि झाँकी, सांस्कृतिक कार्यक्रम, बीउ तथा कृषि उपकरणको प्रदर्शनी, र प्राविधिक सल्लाह समेटिएको महोत्सवले कृषिलाई व्यवसायीकरण गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।

गण्डकी प्रदेश कृषि मन्त्रालयका सचिव वासुदेव रेग्मीले खेतीयोग्य जमिन घडेरीकरण हुँदै गएकोप्रति चिन्ता व्यक्त गर्दै उत्पादकत्व बढाउन सबैले ध्यान दिनुपर्ने धारणा व्यक्त गर्नुभयो। कार्यक्रममा पोखरा २५ का वडाध्यक्ष तथा महानगर प्रवक्ता मोतिलाल तिमिल्सिनाले विष्णुपादुका क्लवले हेमजालाई ब्राण्डिङ गर्न महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गर्नुभयो।

महोत्सव प्रारम्भ हुनुअघि विष्णुपादुका माइस्थानबाट सुरु भएको शोभायात्रा विभिन्न ठाउँ हुँदै महोत्सवस्थलमा पुगेर औपचारिक उद्घाटन गरिएको थियो। उद्घाटन अवसरमा तीनजना कृषक र भाषा क्षेत्रका योगदानकर्ता मुकुन्दशरण उपाध्यायलाई सम्मान गरियो। हालै निर्माण सम्पन्न सुविद्या सम्पन्न शौचालयको समेत उद्घाटन गरिएको छ।

२०७८ को जनगणना अनुसार २२ हजार ५ सय ३२ जनसंख्या भएको हेमजामा ५५० हेक्टरमा आलु खेती हुँदै आएको छ। व्यवसायिक आलु खेतीमा १ हजार ५० कृषक सक्रिय छन्। यहाँ प्रति रोपनी १८ हजार ५ सय ५७ लागतमा ७०५ केजी आलु उत्पादन हुने गरेको तथ्याङ्क छ। महोत्सवमा प्रतिकेजी ४२ रुपैयाँमा आलुको कारोबार भइरहेको छ। महोत्सव वैशाख ३ गतेसम्म चल्नेछ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0