पोखरा, २५ चैत्र। प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको थाइल्यान्ड भ्रमणलाई कूटनीतिक रूपमा ऐतिहासिक मानिएको छ। बिम्स्टेकको छैठौं शिखर सम्मेलनमा सहभागी हुन जाँदा भएको यो भ्रमणसँगै नेपाल–थाइल्यान्डबीचको ६ दशक लामो कूटनीतिक सम्बन्धमा पहिलोपटक राष्ट्र प्रमुख स्तरको औपचारिक संवाद सुरु भएको हो। प्रधानमन्त्री ओलीले थाइल्यान्डकी समकक्षी फेथोङ थान् सिनावात्रासँग द्विपक्षीय वार्ता गर्दै पर्यटन, संस्कृति, स्वास्थ्य, शिक्षा, व्यापार र कृषि क्षेत्रमा आठवटा महत्वपूर्ण सम्झौतामा हस्ताक्षर गरे।

नेपालबाट थाइल्यान्ड पुग्न ३ घण्टा २० मिनेट लागे पनि यसअघिसम्म न थाई प्रधानमन्त्री नेपाल आएका थिए, न नेपाली प्रधानमन्त्रीले त्यहाँ भ्रमण गरेका थिए। यस्तो पृष्ठभूमिमा प्रधानमन्त्री ओलीको यो भ्रमणलाई कूटनीतिक सफलता मानिएको छ। भ्रमणको क्रममा थाइल्यान्डका राजा, उद्योगपति, तथा बिम्स्टेक सदस्य राष्ट्रका नेताहरूसँग ओलीको उच्चस्तरीय भेटघाट भएको थियो। विशेषतः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटले थप चर्चा पाएको छ।

भ्रमणका क्रममा नेपाल र थाइल्यान्डबीच भएको सरकारी तथा निजी क्षेत्रका आठ सम्झौताले द्विपक्षीय सहयोगका नयाँ ढोका खोलेका छन्। पर्यटन प्रवर्द्धन, लगानी अभिवृद्धि, उच्च शिक्षा र स्वास्थ्य क्षेत्रमा सहकार्यका सम्भावनाहरू विस्तार भएका छन्। नेपाल उद्योग वाणिज्य महासंघ, उद्योग परिसंघ, चेम्बर अफ कमर्सलगायत संस्थाहरूले थाई समकक्षीहरूसँग संयुक्त सहकार्यको आधार निर्माण गरेका छन्।

यता, व्यापार घाटाको विषयमा भने प्रधानमन्त्रीको भ्रमणले सशक्त सन्देश दिएको व्यवसायीहरूको भनाइ छ। थाइल्यान्डमा नेपाली निर्यात घट्दै गएको यथार्थलाई सम्बोधन गर्दै नयाँ सम्भावनाहरूको खोज गरिएको छ। विशेष गरी कृषि उत्पादन, जडीबुटी, हरियो चिया, परम्परागत हस्तकला निर्यात बढाउने र थाई लगानी नेपाल भित्र्याएर तेस्रो मुलुकमा निर्यात गर्ने रणनीतिमा छलफल भएको बताइएको छ।

थाइल्यान्डका लागि पूर्वराजदूत डा. खगनाथ अधिकारीका अनुसार, यो भ्रमणले दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्याएको छ। विगतका प्रयासहरूलाई मूर्तरूप दिन सफल प्रधानमन्त्री ओलीको भ्रमणले अब नेपाल–थाइल्यान्ड सम्बन्धमा नयाँ युगको शुरुआत गरेको विश्वास गरिएको छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0