पोखरा, २५ चैत्र। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मंगलबार काठमाडौंको भृकुटीमण्डपमा शक्ति प्रदर्शन गर्ने तयारी गरेको छ। प्रदर्शनको नेतृत्व पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन आफैंले गर्ने भएका छन्। राप्रपाले यस प्रदर्शनमार्फत गत चैत १५ गतेको राजावादी प्रदर्शनको क्रममा पक्राउ परेका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शमशेर राणाको रिहाइको माग गर्नेछ। साथै, वर्तमान सरकारका गतिविधिप्रति असन्तोष जनाउँदै विरोध प्रदर्शन गरिने बताइएको छ।
‘अवस्था बदल्न व्यवस्था बदलौं’ भन्ने मूल नाराका साथ आयोजना गरिने प्रदर्शनमा उपत्यकासहित देशभरका नेता तथा कार्यकर्तालाई सहभागिताको लागि उर्दी जारी गरिएको छ। राप्रपाको यो प्रदर्शन शान्तिपूर्ण हुने विश्वास लिइएको छ। सुरक्षाका लागि काठमाडौं जिल्ला प्रशासन कार्यालय र प्रहरी प्रशासनको संयुक्त समन्वयमा विस्तृत सुरक्षा योजना बनाइएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंले प्रदर्शनलाई व्यवस्थित गर्न सुरक्षाकर्मीहरूको बाक्लो उपस्थितिको व्यवस्था गरेको छ। प्रदर्शनको क्रममा भृकुटीमण्डप वरपर १८ सयभन्दा बढी सुरक्षाकर्मी खटाइने तयारी छ। सुरक्षा संयोजनमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र सादा पोशाकका सुरक्षाकर्मीलाई त्रिस्तरीय घेरामा परिचालन गरिने छ।
राप्रपाले गणतन्त्र खारेज गरी राजासहितको शासन व्यवस्था पुनःस्थापना गर्नुपर्ने, नेपाललाई हिन्दू राष्ट्र घोषणा गर्नुपर्ने लगायत माग राख्दै आएको छ। यिनै मागलाई उजागर गर्दै शान्तिपूर्ण तर प्रभावशाली प्रदर्शन गरिने अध्यक्ष लिङ्देनले बताएका छन्। उनले करिब १२ हजार प्रदर्शनकारी उपस्थित हुने अपेक्षा समेत व्यक्त गरेका छन्।
राजसंस्था पुनःस्थापनाका पक्षधर संयुक्त जनआन्दोलन समितिले पनि राप्रपाको आन्दोलनलाई समर्थन जनाउँदै शान्तिपूर्ण सहभागी हुन आह्वान गरेको छ। सुरक्षाका दृष्टिले प्रहरी प्रशासनले प्रदर्शनकारीको मनोवृत्ति अध्ययन गर्दै सचेत रुपमा परिचालन हुने बताएको छ।





























