पोखरा, २९ चैत्र। गृहमन्त्री रमेश लेखकले गत चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको राजावादी प्रदर्शनलाई आपराधिक र विध्वंसात्मक घटनाको रूपमा व्याख्या गरेका छन्। शुक्रबार संघीय संसद् अन्तर्गतको कानुन, न्याय तथा मानवअधिकार समितिको बैठकमा जवाफ दिँदै मन्त्री लेखकले सो प्रदर्शन पूर्वनियोजित रूपमा आतङ्क र अराजकता फैलाउने कार्य भएको स्पष्ट पारेका हुन्।
उनका अनुसार प्रदर्शनको क्रममा निजी सम्पत्ति, सञ्चार गृह, राजनीतिक दलका कार्यालय, व्यापारिक केन्द्रहरू र सवारी साधनमाथि तोडफोड र आगजनी जस्ता कार्य भएका थिए। उनले ती गतिविधिहरू आपराधिक प्रवृत्तिका रहेका भन्दै त्यस्तो घटनामा कुनै पनि बहस आवश्यक नरहेको बताएका छन्। मन्त्री लेखकले प्रदर्शनकारीहरूले जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीमा प्रवेश गरी उद्योग ध्वस्त पारेको घटनालाई विशेष रूपमा उल्लेख गरे।
उनले भने, “उद्योगभित्र पसेर हेर्दा मात्रै पनि यो घटना कति विध्वंसात्मक थियो भन्ने स्पष्ट देखिन्छ। मौलिक रूपमा राम्रोसँग सञ्चालनमा रहेको उद्योगमाथि गरिएको आक्रमणले घटनाको गम्भीरता झल्काउँछ।”
गृहमन्त्रीले सरकार यस्ता घटनाको दोहोरिन नदिने विषयमा पूर्ण चनाखो रहेको स्पष्ट पारेका छन्। साथै उनले संविधानले सबैलाई शान्तिपूर्ण रूपमा असहमति जनाउने र जनमतबाट आफ्नो पक्ष स्थापित गर्ने अधिकार दिएको स्मरण गराएका छन्।
घटनामा घाइते भएकाहरूको अवस्थाबारे जानकारी लिन आफू अस्पताल पुगेको बताउँदै उनले सरकारले सबै घाइतेको उपचार खर्च व्यहोर्ने निर्णय गरिसकेको जानकारी दिए। प्रधानमन्त्रीको अध्यक्षतामा चैत १५ कै दिन बसेको मन्त्रिपरिषद् बैठकबाट निःशुल्क उपचारको निर्णय भइसकेको र कुनै औषधि बाहिरबाट किन्नुपरेमा पनि त्यसको खर्च सरकारले व्यहोर्ने उनले स्पष्ट पारे।




























