पोखरा, २९ चैत्र। प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षकहरूलाई विद्यालय शिक्षा ऐन चाँडै आउने भएकाले आन्दोलनमा बसिरहनु आवश्यक नरहेको बताएका छन्। नेकपा (एमाले) रुपन्देही जिल्ला कमिटीले बुटवलमा आयोजना गरेको जागरण सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकार शिक्षकहरूको आवाज सुन्न तयार रहेको भन्दै उनीहरूलाई संयमित रहन आग्रह गरे।

उनले सरकार शिक्षा क्षेत्रको सुधारप्रति गम्भीर रहेको स्पष्ट पार्दै समस्याहरू समाधान गर्ने प्रक्रियामा आफूहरू अघि बढिसकेको उल्लेख गरे। “शिक्षकहरूको मागप्रति सरकार संवेदनशील छ। तर, समस्या समाधानका लागि सडक आन्दोलन नै एक मात्र विकल्प होइन,” उनले भने। ओलीले राष्ट्रको आर्थिक अवस्था र हितलाई पनि ध्यानमा राखेर आन्दोलनको विकल्प खोज्नुपर्ने तर्क गरे।

सभा क्रममा प्रधानमन्त्री ओलीले त्रिभुवन विश्वविद्यालयका उपकुलपतिसँग आफूबीच कुनै मनमुटाव नरहेको दाबी गर्दै उपकुलपतिले राजीनामा आफूले पठाएको माध्यमबाट नै आएको पुष्टि गरे। उनले राजीनामा स्वीकृत गरिएको र त्यसलाई लिएर भइरहेको प्रचारमा सत्यता नरहेको बताए।

सरकार सबै क्षेत्रको आवाज सुन्ने खालको भएको र समस्याहरू सम्बोधन गर्ने दिशामा आफूहरू दृढताका साथ अघि बढिरहेको प्रधानमन्त्री ओलीको भनाइ थियो।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0