पोखरा, ३१ चैत्र। पोखराको लेकसाइड क्षेत्रमा २० औं फेवा नव वर्ष महोत्सव २०८२ सुरु भएको छ। शनिबार पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले अम्बोटमा आयोजित सभामार्फत महोत्सवको उद्घाटन गरे। होटल संघ पोखरा नेपालले आयोजना गरेको महोत्सव वैशाख १ गतेसम्म चल्नेछ। उद्घाटन समारोहमा खहरे र ड्यामसाइडबाट झाँकीसहितको र्याली सभास्थलसम्म निकालिएको थियो। निःशुल्क प्रवेशको व्यवस्था गरिएको महोत्सव लेकसाइडको ड्यामसाइडदेखि खहरेसम्मको सडक खण्डमा सञ्चालन भइरहेको छ।
महोत्सवमा नेपाली मौलिक बाजा, पंचेवाजा, भजन, रत्यौलीका साथै भक्तपुरको प्रसिद्ध विस्केट जात्राको विशेष प्रस्तुतीसमेत समावेश गरिएको छ। पर्यटन, संस्कृति र खाना महोत्सवका प्रमुख आकर्षण रहेका छन्। महोत्सव अवधिभर संघअन्तर्गतका सदस्य होटलहरूले आफ्नो प्रकाशित दररेटमा २० प्रतिशत छुट प्रदान गरिरहेका छन्। आयोजक संघका अध्यक्ष लक्ष्मण सुवेदीका अनुसार हाल पोखराका ८० प्रतिशत होटलहरू ८० प्रतिशत अकुपेन्सीमा सञ्चालनमा छन्। उनले महोत्सवले पोखराको पर्यटन व्यवसायलाई थप सक्रिय बनाउने विश्वास व्यक्त गरे।
प्रमुख अतिथि आचार्यले पोखराको प्रकृति, संस्कृति र साहसिक पर्यटनलाई अनुभव गर्ने माध्यमको रूपमा महोत्सवले भूमिका निर्वाह गर्ने बताए। उनले पोखराको यातायात प्रणालीलाई प्रविधिमैत्री बनाउने प्रक्रिया अघि बढिसकेको जनाउँदै नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान थपिने विश्वास व्यक्त गरे। कोरियाली सहयोगमा पोखरामा जलन अस्पताल निर्माणको प्रक्रिया प्रारम्भिक चरणमा रहेको जानकारी पनि दिए।
होटल संघ नेपालका अध्यक्ष विनायक शाहले पर्यटनबाट आर्थिक समृद्धि सम्भव हुने विचार राखे। सल्लाहकार परिषद्का संयोजक भरतराज पराजुलीले फेवा तालको माथिल्लो भागमा सानो ताल निर्माण गरी जलक्रीडा प्रवद्र्धन गर्न सकिने सुझाव प्रस्तुत गरे। उद्घाटन कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की, प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, वडा ६ की महिला सञ्जाल अध्यक्ष बबिता मल्ल लगायतको उपस्थिति थियो।
महोत्सवमा प्रदेशस्तरीय रैथाने परिकार प्रदर्शन, सांस्कृतिक प्रस्तुति, मनोरञ्जनात्मक खेलकुद, पर्यटक दौड र संस्थागत ब्याडमिन्टन कप प्रतियोगिता आकर्षणको रुपमा रहेका छन्। स्थानीय तथा राष्ट्रिय कलाकारको प्रत्यक्ष पप कन्सर्ट, लोक दोहोरी कार्यक्रम, कृषि तथा हस्तकलाका सामग्री प्रदर्शनी महोत्सवमा थप रौनक दिइरहेका छन्। गोर्खा ब्रुअरी महोत्सवको मुख्य प्रायोजक रहेको छ भने अन्य प्रायोजकमा पेप्सी, बन्दीपुर केवलकार, फोन पे, अन्नपूर्ण केवलकार, टोकला चिया, प्रभु इन्स्योरेन्स र नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशसमेत रहेका छन्। उद्घाटन कार्यक्रमको सञ्चालन महासचिव राजेन्द्र ढकालले गरेका थिए।





























