पोखरा, ३१ चैत्र। पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्ष २०८२ को पूर्व सन्ध्यामा देशवासीका नाममा शुभकामना सन्देश दिँदै मुलुकको समग्र संरचनामा आमूल हेरफेर र सुधारको खाँचो औंल्याएका छन्। उनले सार्वजनिक गरेको भिडियो सन्देशमा राष्ट्रियता, आत्मनिर्भर अर्थतन्त्र, सुशासन र नागरिक एकताको पक्षमा बलियो आवाज उठाएका छन्।

सन्देशको सुरूमा उनले सम्पूर्ण नेपालीलाई सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्दै हरेक नयाँ वर्षले आशा लिएर आउँछ तर वर्षको अन्त्यमा निराशा मात्रै बाँकी रहने विडम्बनाको स्मरण गराए। हालै काठमाडौंको तिनकुनेमा राजावादी आन्दोलनका क्रममा भएको हिंसा, आगजनी र तोडफोडप्रति दु:ख व्यक्त गर्दै उनले अभिव्यक्तिको स्वतन्त्रता संयमित हुनुपर्नेमा जोड दिएका छन्।

शान्ति, समृद्धि र राष्ट्रिय एकताका लागि नेपालले आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नुपर्नेमा पूर्वराजाले जोड दिएका छन्। स्वदेशमै उत्पादन र खपत बढाएर आन्तरिक अर्थतन्त्रलाई चलायमान बनाउनुपर्ने आवश्यकता औंल्याउँदै, ‘स्वदेश फर्क, स्वदेश नै स्वर्ग’ भन्ने अभियान आवश्यक रहेको बताए।

उनले शिक्षा, स्वास्थ्य र प्रशासनिक प्रणालीमा आमूल सुधार र प्रविधिको सन्तुलित उपयोगमार्फत राष्ट्रलाई उन्नतिको बाटोमा लैजानुपर्ने धारणा राखे। सुशासन र भ्रष्टाचारमुक्त शासन प्रणाली स्थापना गर्नुपर्ने भन्दै अस्थिरता, अराजकता, विपन्नता र भ्रष्टाचार अन्त्यका लागि जनस्तरबाट हुने प्रयासमा आफू एकबद्ध रहने बताएका छन्।

सन्देशको अन्त्यमा उनले सम्वाद, सहमति, समन्वय र सहकार्य नै समस्याको समाधान भएको उल्लेख गर्दै आगामी वर्ष नेपाली इतिहासमा स्मरणीय बन्ने विश्वास व्यक्त गरेका छन्।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0