पोखरा, ३१ चैत्र। सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की केन्द्रीय सदस्य ज्वाला संग्रौलालाई अवहेलनासम्बन्धी मुद्दामा तीन दिनभित्र उपस्थित भई स्पष्टीकरण दिन आदेश दिएको छ। आइतबार न्यायाधीशद्वय हरिप्रसाद फुयाल र शारंगा सुवेदीको संयुक्त इजलासले संग्रौलाले अदालतको मानमर्दन हुने अभिव्यक्ति दिएको ठहर गर्दै लिखित जवाफसहित अदालतमा हाजिर हुन निर्देशन दिएको हो।
रास्वपा सभापति रवि लामिछानेलाई सुप्रिम सहकारी ठगी तथा संगठित अपराध मुद्दामा थुनामा पठाउने उच्च अदालत तुलसीपुरको बुटवल इजलासको आदेशपछि संग्रौलाले सामाजिक सञ्जालमार्फत ‘दलको झोला बोकेका न्यायाधीश’ भन्ने आशयको अभिव्यक्ति दिएकी थिइन्। उक्त अभिव्यक्तिले अदालतको निर्णय कार्यान्वयनमा अवरोध पुर्याउने र न्यायपालिका प्रति जनविश्वासमा क्षति पु¥याउने दाबी गर्दै अधिवक्ता प्राञ्जल केसीले चैत २७ गते अदालतको अवहेलना निवेदन दर्ता गराएका थिए।
निवेदन चैत २८ मा दर्ता भई आइतबार पेसीमा चढेको हो। यसअघि पनि संग्रौला २०७८ मा रंगभेदी अभिव्यक्तिका कारण पक्राउ परेकी थिइन्। सो मुद्दामा उनलाई जिल्ला अदालत काठमाडौंले धरौटीमा रिहा गरेको थियो।
सर्वोच्च अदालतले दिएको पछिल्लो आदेशपछि सामाजिक सञ्जालमा सार्वजनिक हुने राजनीतिक अभिव्यक्तिको कानुनी प्रभाव र मर्यादाबारे पुनः बहस चर्किएको छ।





























