पोखरा, ५ वैशाख। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एमालेसँगको सत्ता सहकार्यमा देखिएका समस्याहरू समाधान गरेर अघि बढ्नुपर्ने स्पष्ट सन्देश दिएका छन्। बिहीबार बिहान पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठक राखेर देउवाले पछिल्ला दिनमा सरकारप्रति देखिएको असन्तुष्टिबारे गम्भीर छलफल गरेका हुन्।
बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सरकारको कार्यशैलीप्रति खुलेर आलोचना गर्दै सुधारको माग राखेका थिए। उनीहरूकै लगातारको आलोचनापछि सभापति देउवाले बैठक आह्वान गरेका थिए। पार्टीभित्र यस्तो बैठकलाई निर्णयात्मक होइन, तर गम्भीर राजनीतिक समस्याहरू समाधानका लागि सन्देशमूलक मानिन्छ।
बैठकमा देउवाले सत्ता सहकार्यमा केही समस्या देखिए पनि ती समस्याहरू संवाद र सहमतिबाट समाधान गर्दै सरकारलाई अघि बढाउनु पर्नेमा जोड दिएका थिए। उनले प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भइरहेको नियमित संवादको जानकारी दिँदै गभर्नर नियुक्ति, एआईजी बढुवा लगायतका राजनीतिक विषयमा सहमति भएको पनि बैठकमा जानकारी गराएका थिए।
सभापति देउवाले सत्ता सञ्चालनमा देखिएको कमजोरी सच्याएर सरकारलाई प्रभावकारी बनाउनुपर्ने भन्दै सहकार्य कमजोर नपार्ने संकेत दिएका छन्। महामन्त्री थापा र शर्माले पनि सरकारको विकल्प खोज्ने उद्देश्य नरहेको, तर सही मार्गमा सरकारलाई डोर्याउनुपर्ने तर्क राखेका थिए। प्रधानमन्त्री ओलीले पनि कांग्रेस नेताहरूको असन्तुष्टि सम्बोधन गर्दै आगामी निर्णयहरू संयन्त्रमार्फत अघि बढाउने प्रतिबद्धता जनाएका छन्।
एमाले सचिवालय बैठकमा समेत प्रधानमन्त्री ओलीले कांग्रेससँगको सहकार्य दृढ रहेको बताउँदै सरकार सञ्चालनमा असहजता देखिएको स्वीकार गरेका थिए। उनले राजनीतिक नियुक्तिमा लचिलो हुने संकेतसमेत दिएका थिए। यसै सन्दर्भमा बुधबार देउवासँगको भेटपछि उच्च स्तरीय संयन्त्रको बैठक पनि बसेको थियो।
सभापति देउवाको सक्रियताले सत्ता सहकार्यबारे देखिएको अन्योल हटाउन मद्दत पुगेको देखिन्छ। उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलका अनुसार देउवा–ओली संवादले दुई दलबीचको सहकार्य अझ बलियो बनाएको छ।





























