पोखरा, ९ वैशाख। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षकसँगको संवाद प्रक्रियामा संवादभन्दा अपमानजनक व्यवहार देखाएको आरोप लगाएका छन्। लेनिन जयन्ती तथा नेपाल कम्युनिस्ट पार्टीको ७६ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले शिक्षकहरूको माग नयाँ नभई विगतका सहमति कार्यान्वयनमै सीमित रहेको बताएका हुन्।

उनले प्रधानमन्त्री ओलीले शिक्षकप्रति हप्काउने शैली अपनाएर आन्दोलनलाई जटिल बनाएको टिप्पणी गरे। प्रचण्डले सरकारको असंवेदनशीलता र शिक्षामन्त्रीप्रतिको उपेक्षाले राजीनामासम्मको परिस्थिति सिर्जना भएको उल्लेख गर्दै सरकार आफैंले थाम्न नसक्ने अवस्थाको पूर्वानुमान आफूले पहिल्यै गरिसकेको दाबी गरे।

उनले आन्दोलनरत शिक्षकहरूले २१ दिनदेखि काठमाडौंमा निरन्तरता दिइरहेको आन्दोलन न्यायोचित रहेको भन्दै समर्थन जनाए। साथै, शिक्षकका मागहरू सम्बोधन गर्न आफ्नो नेतृत्वको सरकारले संसद्मा विधेयकसमेत पेश गरिसकेको जानकारी दिए।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0