पोखरा, १० वैशाख। दुई दिने नेपाल भ्रमणमा रहेका संयुक्त अरब इमिरेट्स (यूएई)का उपप्रधानमन्त्री तथा विदेशमन्त्री महामहिम शेख अब्दुल्लाह बिन जायेद अल नाह्यानले आज उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्ने भएका छन्। परराष्ट्र मन्त्रालयका अनुसार उनले उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलसँग औपचारिक द्विपक्षीय वार्ता गर्ने छन्।

नेपाल भ्रमणमा मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारी, परराष्ट्र सचिव अमृतबहादुर राई लगायतले उनलाई स्वागत गरेका थिए। शेख नाह्यानसँगै यूएईका परराष्ट्र राज्यमन्त्री अहमद अली मोहम्मद अल सायेघ, आर्थिक तथा व्यापार मामिलाका सहायकमन्त्री सईद मुबारक राशिद अलहजेरी, ऊर्जा तथा दिगोपन मामिलाका सहायकमन्त्री अब्दुल्ला बलाला, नेपालका लागि यूएईका राजदूत अब्दुल्ला जरवान अलशाम्सी लगायत वरिष्ठ अधिकारीहरूको उपस्थिति रहेको छ।

भ्रमणको क्रममा आपसी हित र सहकार्यका विषयमा छलफल हुने अपेक्षा गरिएको छ। प्रतिनिधिमण्डल आजै अपराह्न यूएई फर्किने कार्यक्रम रहेको जनाइएको छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0