पोखरा, १० वैशाख। शिक्षामन्त्री विद्या भट्टराईको राजीनामापछि उठेका राजनीतिक प्रतिक्रियामा प्रधानमन्त्री केपी शर्मा ओलीले १५ महिना पर्खन सुझाव दिएका छन्। उनले नेपाली कांग्रेससँगको सहमतिअनुसार उक्त समयपछि मात्र आफूले पद छोड्ने स्पष्ट पारेका छन्। नेकपाको ७६ औं स्थापना दिवसको अवसरमा मंगलबार आयोजित कार्यक्रममा बोल्दै ओलीले नयाँ शक्तिहरूको आलोचनालाई लक्षित गर्दै भने, “१५ महिनापछि आउँछ राजीनामा, कांग्रेससँग सहमति छ, स्पष्ट छ।”
यसअघि रास्वपा नेतृ सुमना श्रेष्ठले सामाजिक सञ्जालमा शिक्षामन्त्रीको होइन, प्रधानमन्त्रीको राजीनामा आउनुपर्ने टिप्पणी गरेकी थिइन्। उनले सोमबार विद्या भट्टराईको राजीनामा सार्वजनिक भएपछि यस्तो अभिव्यक्ति दिएकी हुन्।
प्रधानमन्त्री ओलीको यो वक्तव्यले हालको सत्ता समीकरण र भावी राजनीतिक तालमेलका संकेतहरू उजागर गरेको छ। उनले १५ महिनापछि शेरबहादुर देउवाले प्रधानमन्त्री बन्ने सहमति पनि दोहोर्याएका छन्।





























