पोखरा, ११ वैशाख। सशस्त्र प्रहरी बलको एपीएफ क्लबले लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको फाइनलमा स्थान सुरक्षित गरेको छ। बुधबार नेपालगन्ज रंगशालामा सम्पन्न दोस्रो सेमिफाइनल खेलमा रौतहट जिल्ला फुटबल संघको टोलीलाई ३–० गोल अन्तरले पराजित गर्दै एपीएफले उपाधि नजिक पुगेको हो।

खेलको पहिलो हाफमा दुबै टिमबाट गोल हुन सकेन। तर, दोस्रो हाफमा एपीएफले आफ्नो दबदबा देखायो। ७३औँ मिनेटमा अनिता केसीले पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाइन्। त्यसपछि ८०औँ मिनेटमा निशा ठोकरले र अन्तिम मिनेटमा सविता रानामगरले गोल थपेपछि एपीएफको जित सुनिश्चित भयो। रौतहटले थप गरिएको अतिरिक्त समयमा पनि कुनै प्रभाव पार्न सकेन। अनिता केसी खेलकी म्यान अफ द म्याच घोषित भइन्।

अब एपीएफले फाइनल खेलमा नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछ। पुलिसले मंगलबार त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा हराउँदै फाइनल यात्रा तय गरेको थियो। निर्णायक भिडन्त शुक्रबार दिउँसो ३ बजे हुने मिडिया संयोजक नीरज गौतमले जानकारी दिएका छन्। प्रतियोगितामा नेपाल र भारतका आठ टोलीहरूको सहभागिता रहेको छ, जसमा घरेलु टोली बाँके–११, कर्णाली एफसी, सुदूरपश्चिम एफसी, सिलिगुडी क्लबलगायत छन्।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0