पोखरा, ११ वैशाख। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पुँजीगत खर्चको कार्यान्वयन जिम्मेवारी सम्बन्धित मन्त्रालयहरूको भएको स्पष्ट पारेका छन्। बुधबार अर्थ मन्त्रालयमा आयोजित मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा बोल्दै उनले अर्थ मन्त्रालयको भूमिका स्रोत व्यवस्थापन र सहजीकरणको भएको उल्लेख गर्दै बजेट कार्यान्वयनमा भने सम्बन्धित मन्त्रालय नै जिम्मेवार हुने बताए।
उनले बेरुजु फर्स्यौट, वैदेशिक लगानीको सहजीकरण, पुँजी परिचालन, प्रविधिको प्रयोग र सेवाप्रवाहमा विशेष ध्यान दिन निर्देशनसमेत दिए। अर्थतन्त्र सुधारतर्फ उन्मुख रहेको भन्दै नेपाल राष्ट्र बैंकका कायम मुकायम गभर्नर निलम ढुंगानाले वित्तीय स्थायित्व कायम गर्नुपर्ने धारणा राखिन्।
अर्थसचिव घनश्याम उपाध्यायले नियमन र कारबाहीलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए भने राजस्व सचिव दिनेशकुमार घिमिरेले आन्तरिक सुशासनलाई प्राथमिकतामा राख्नुपर्ने बताए। अर्थ मन्त्रालयका प्रवक्ता श्यामप्रसाद भण्डारीले आगामी आर्थिक वर्षको बजेट कार्यतालिकाअनुसार निर्माणको प्रक्रियामा रहेको जानकारी गराए।




























