पोखरा, १३ वैशाख। भारतको काश्मीरस्थित प्रसिद्ध पर्यटकीय गन्तव्य पहलगाममा वैशाख ९ गते भएको एक नृशंस हत्याकाण्डले संसारलाई स्तब्ध बनाएको छ। आतंककारी हमलामा परेर मारिएका २८ निहत्था पर्यटकमध्ये एक नेपाली नागरिक समेत छन्। बुटवल निवासी सुदीप न्यौपानेको घटनास्थलमै हत्या गरिएको थियो। उनको पार्थिव शरीर नेपाल ल्याई अन्त्येष्टि गरिसकिएको छ। घटनाले भारत मात्र होइन, नेपाल लगायत दक्षिण एशियाका सबै मुलुकहरूमा आतंक र घृणाको डरलाग्दो प्रभाव परेको छ।

पर्यटकहरू रमाइलो गरिरहेका बेला एकाएक ५–६ जना बन्दुकधारीले हमला गरेका थिए। घटनास्थलमा पुरुष र महिला छुट्याएर धर्म सोधिएको थियो। जो मुसलमान थिएनन्, उनीहरूलाई गोली ठोकिने गरिएको थियो। कलमा पढ्न लगाई परीक्षण गरिएको र पढ्न नसक्नेहरूलाई निशानामा पारिएको विवरण सार्वजनिक भएको छ। यहाँसम्म कि केहीलाई गुप्तांग च्यातेर मुसलमान वा गैरमुसलमान छुट्याउने कार्य समेत गरिएको थियो। एक जना मुसलमान युवाले गैरमुस्लिमको ज्यान जोगाउन खोज्दा उनलाई समेत मारिएको छ।

यो बर्बर हमलामा संलग्न आतंककारीहरूका लागि धर्म नै प्रमुख मापदण्ड भएको देखिएको छ। सुदीप न्यौपाने हिन्दू भएकाले उनी निशानामा परेको प्रारम्भिक अनुसन्धानले देखाएको छ। इसाई धर्मावलम्बी एक भारतीय नागरिकको नाम हिन्दू जस्तो सुनिने भएकाले उनलाई पनि माफ गरिएन। घटनाले हिन्दू वा अन्य गैरमुस्लिम धर्म मान्नेहरूप्रति चरम घृणा प्रकट भएको देखाउँछ।

विश्वभर फैलिएर रहेका इस्लामी आतंककारी संगठनहरूको मूल उद्देश्य धर्मका नाममा ‘काफीर’ सिध्याउने जिहादी अभियान नै रहेको तथ्य यस घटनाले पुनः पुष्टि गरेको छ। अल कायदादेखि आईएसआईएससम्मका आतंककारीहरू यस्तै मानसिकता बोकेका छन्। कुरानका कतिपय व्याख्याहरूलाई आधार मानेर गैरमुस्लिमप्रति घृणा फैलाउने कार्य भइरहेको विज्ञहरू बताउँछन्।

पाकिस्तानमा पनि अल्पसंख्यक विशेष गरी हिन्दू समुदायमाथि चरम अत्याचार भइरहेको तथ्य यस घटनाले फेरि उजागर गरेको छ। विगतका अनुभव अनुसार पाकिस्तानमा हिन्दू महिलाहरूलाई जबर्जस्ती धर्म परिवर्तन गराई विवाह गराइने गरेको छ। यस्तो अवस्थाले नेपाल लगायत दक्षिण एशियाली देशहरूलाई गम्भीर चासोको विषय बनाएको छ।

भारतले यस घटनाको तीव्र प्रतिक्रिया जनाउने तयारी गरिरहेको छ। सीमाबन्दी, जल सम्झौता रद्ददेखि लिएर सैन्य कारबाहीसम्मको तयारी भइरहेको बताइएको छ। यसबीच नेपालले यस किसिमको आतंकवादविरुद्ध स्पष्ट धारणा लिनु पर्ने आवाज पनि उठ्न थालेको छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1