पोखरा, १३ वैशाख। उपभोक्ताको हकहित संरक्षणका लागि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एमआरपी (अधिकतम खुद्रा मूल्य) नटाँसेर सामान बिक्री गर्ने कम्पनीहरूमाथि बजार अनुगमन तीव्र बनाउँदै कारबाही प्रक्रिया अघि बढाएको छ। विभागले हालै अनुगमन गरेका १० कम्पनीमध्ये मापदण्ड नपु-याउनेहरूलाई कागजातसहित उपस्थित हुन निर्देशन दिएको छ।
अनुगमनको क्रममा होङ्सी शिवम् सिमेन्ट प्रालिले उपभोक्ता संरक्षण ऐन, २०७५ नमानिएको पाइएपछि विभागले तीन दिनभित्र उपस्थित हुन निर्देशन दिएको हो। त्यसैगरी, प्रिमियर ओभरसिज प्रालिलाई २ लाख ५० हजार रुपैयाँ जरिवाना गरिएको छ भने बीएसजी नेपाल प्रालिको वस्तु बिक्री वितरण स्थगन गरी विभागमा उपस्थिति आदेश दिइएको छ। मित्तल ओभरसिज, प्रिमियर वायर्स, प्राइम केबल प्रालिलगायत अन्य कम्पनीहरूलाई पनि कागजातसहित उपस्थित हुने समय दिइएको विभागले जानकारी दिएको छ।
गत २० चैतबाट अनिवार्य एमआरपीको व्यवस्था लागू भएपछि विभागले देशभरका उद्योग तथा व्यवसायहरूमाथि निगरानी कडा बनाएको छ। काठमाडौंस्थित वन्सल ट्रेडिङ प्रालिसमेत बिक्री वितरण रोक्का गरिएको कम्पनीमा पर्छ। एमआरपी बिना सामान बिक्री गर्ने इलेक्ट्रो किचन ट्रेडर्स, युनाइटेड वायर एन्ड केवल, जान्भी प्लाटोक्यापलगायत कम्पनीहरूलाई ऐन पालना गरी एमआरपी लेबल राख्न चेतावनीसहित निर्देशन दिइएको छ।
डन्डी र सिमेन्ट उद्योगले एमआरपी सम्बन्धमा असहमति जनाएपछि विभागले पहिलो चरणमा एफजीपी (फ्याक्ट्री गेट प्राइस) राख्न सहमति गरेको थियो। तर, १ वैशाखबाट सबै वस्तुमा अनिवार्य एमआरपी लेबल राख्नुपर्ने नियम पूर्ण रूपमा लागू भइसकेको छ। विभागका अनुसार चैत महिनाभर १५० भन्दा बढी उद्योगमा अनुगमन गरिएको थियो भने २० भन्दा बढीको कारोबार रोक्का गरिसकिएको छ।





























