पोखरा, १३ वैशाख। नयाँ पुस्तामा सनातन संस्कृति, ज्ञान र विवेकको बीज रोप्ने उद्देश्यले श्रीगण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट् ज्ञान महायज्ञ–२०८२ अन्तर्गत राष्ट्रव्यापी खुला वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको छ। कक्षा ८ देखि १२ सम्मका विद्यार्थीलाई लक्षित गरी आयोजना गरिएको यस प्रतियोगिताको शिर्षक “सनातन संस्कृति, गण्डकी कोटिहोम र हामी विद्यार्थी” रहेको छ।
प्रतियोगिता माध्यमिक तहका विद्यार्थीहरूको विचार, संस्कार र समाजप्रतिको निष्ठाको परीक्षण र प्रोत्साहनको सन्देश बोकेको छ। आयोजकका अनुसार, यो कार्यक्रम सनातन संस्कृतिप्रति विद्यार्थीको समर्पण, समझदारी र सम्भावनाको अभिव्यक्तिको प्लेटफर्म हो, जसले उनीहरूमा वैदिक मूल्यबोध र संस्कृतिक चेतनाको विकासमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।
प्रतियोगितामा उत्कृष्ट अभिव्यक्ति दिने प्रतिभाहरूलाई नगद पुरस्कारसहित सम्मान गरिनेछ। पहिलो पुरस्कार प्राप्त विद्यार्थीले रु. ५१,१५१/- प्राप्त गर्नेछ भने दोस्रो, तेस्रो र प्रशंसनीय पुरस्कार क्रमशः रु. ४१,१४१/-, रु. ३१,१३१/- र रु. २१,१२१/- राखिएको छ।
प्रतियोगिता २०८२ साल जेठ १ गतेदेखि २५ गतेसम्म सञ्चालन हुने बताइएको छ। आयोजकले विद्यार्थीहरूलाई देशको संस्कृतिक पहिचान, ज्ञान र विवेकमा आधारित समाज निर्माणतर्फ अग्रसर गराउन यस कार्यक्रमको महत्व रहेको बताएका छन्। गण्डकी कोटिहोमको ऐतिहासिक धरातलमा हुने यो प्रतियोगिताबाट नवयुवा पुस्तामा सभ्यताको उज्यालो उजागर हुने अपेक्षा गरिएको छ।































